नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिज आज सुरु हुँदै

तस्बिर : नेपाल क्रिकेट संघ 

वैशाख १५, २०८१ | काठमाडौं

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ५ खेलको टी–२० सिरिज आज सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । 

हालै ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो सिरिज खेल्न लागेको हो । सिरिजका लागि क्रिकेट संघ–क्यानले बिहीबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेको छ । यद्यपि, प्रशिक्षक मोन्टी देशाइले थप चार जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएका थिए । 

सिरिजको लागि घोषणा गरिएको टिममा लोकेश बम, कमल सिंह ऐरी, सागर ढकाल र विनोद भण्डारी थपिएका हुन् । अब नेपाली टोली २० सदस्यीय भएको छ । 

सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान पौडेलले ओमानमा नेपालका लागि सुखद् नरहे पनि यो श्रृंखलाबाट राम्रो तयारी गर्ने बताएका थिए । 

वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । वेस्ट इन्डिज ‘ए’ को टोलीमा जोनसन चार्ल्स, फाबियन एलेन, एन्ड्रे फ्लेचर, हेडेन वाल्स, एलिक अथानाजे, किमो पाउल, ओसाने थोमस जस्ता खेलाडी रहेका छन् ।

नेपाल र वेस्ट इन्डिज दुबै टोली आसन्न टी–२० विश्वकपको तयारीमा छन् । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप च्याम्पियन हो । वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

दुई टोलीबीचको दोस्रो खेल भोलि आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल आगामी शनिबार हुनेछ । सिरिज कान्तिपुर टेलिभिजन, कान्तिपुर म्याक्स र कान्तिपुर टेलिभिजनका डिजिटल प्ल्याटर्फमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।


प्रतिक्रिया