इलाम-२ र बझाङ-१ मा मतदान सुरु

वैशाख १५, २०८१ | काठमाडौं

प्रतिनिधि र प्रदेशसभा सदस्यको रिक्त सिटका लागि इलाम–२ र बझाङ–१ मा अहिले मतदान भईरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज मतदान भईरहेको हो । 

इलाम–२ मा ७९ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्र रहेका छन् । इलाममा १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । इलाम–२ को उपनिर्वाचनमा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू लगायत १९ जना चुनावी प्रतिस्पर्धामा छन् । 

यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

यस्तै, बझाङ–१ मा मतदानका लागि ७४ मतदान स्थलमा ९३ वटा मतदान केन्द्र तोकिएको छ । बझाङमा कांग्रेसबाट अभिषेक बहादुर सिंह, एमालेबाट दमन भण्डारी, माओवादी केन्द्रबाट जनक बुढा र एकीकृत समाजवादीपार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा छन् । बझाङ–१ मा ६१ हजार ७ सय ४८ जना मतदाता रहेका छन् । मतादान केन्द्रहरुको सुरक्षा व्यवस्था चुस्त पारिएको आयोगले जनाएको छ ।

यसैबीच, निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदान सकिए लगतै मत गणनाको तयारी गरेको छ । इलाम– २ मा भोलिसम्ममा नतिजा आउने गरी आजै रातिबाट मत गणनाको तयारी गरिएको आयोगले जनाएको छ । 

यता बझाङमा भने दुर्गम क्षेत्रमा भएकाले मतपेटिका संकलनको लागि आवश्यक सवारी साधन र सुरक्षा व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैबीच, चुनावका दिन शनिबार मेची राजमार्गमा चल्ने सवारीसाधनलाई निषेध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै शनिबार बिहान ५ देखि साँझ ६ बजेसम्म अनुमति लिएका र अत्यावश्यक बाहेकका सवारी साधनलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया