लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा प्रदर्शन

चैत्र २, २०७७ | अस्ट्रेलिया

लैंगिक हिंसा अन्त्यको माग गर्दै अस्ट्रेलियामा हजारौं महिला प्रदर्शनमा उत्रिएका छन् । अस्ट्रेलियाका सबै मुख्य र दुर्गम शहरका साथै राजधानी क्यानबेरामा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले महिलामाथि हुने शारीरिक हिंसाका विरुद्धमा स्वतन्त्र छानबिन गरिनुपर्ने माग गरेका छन् । 

‘मार्च फर जस्टिस’ नामक संस्थाको अगुवाईमा भएको प्रदर्शनमा १ लाख बढी महिला, पुरुष तथा बालबालिकाले सहभागिता जनाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । करीब एक महिनाअघि संसद भवनस्थित रक्षामन्त्री लिण्डा रेनल्डसको कार्यालयका पूर्व कर्मचारी ब्रिटनी हिगन्सले सहकर्मीद्वारा आफू बलात्कृत हुनुपरेको आरोप लगाएपछि यो मुद्दा बाहिर आएको हो । 

यस लगत्तै महान्यायाधिवक्ता क्रिस्टियन पोर्टरले करीब ३३ वर्षअघि एक महिलालाई बलात्कार गरेको आरोप लागेपछि यो समस्या अझ चर्किएको हो । पोर्टरमाथि लागेको आरोपका सम्बन्धमा स्वतन्त्र छानबिन हुनुपर्ने माग उठेपनि अहिलेसम्म यस बारेमा कुनै आधिकारिक निर्णय गरिएको छैन । सोमबार देशैभरि आयोजित प्रदर्शनमा सहभागी महिलाले सो मुद्दाको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेका थिए । 

यो संख्यामा पहिलो पटक आयोजना गरिएको दाबी गरिएको यस प्रदर्शनमा आयोजकले मुख्य ४ वटा माग अघि सारेका छन् । जसमा हरेक किसिमका लैगिंक हिंसाका बारेमा पूर्णरुपमा स्वतन्त्र छानबिन गरिनुपर्ने, अस्ट्रेलियास्थित मानव अधिकार आयोगद्वारा सुझाव दिइएका ५५ वटै सुझावलाई कार्यान्वयन गरिनुपर्ने, लैंगिक हिंसाको रोकथाम तथा अन्त्यका लागि सहयोग बढाउनुपर्ने र यस सम्बन्धी अझ प्रभावकारी कानून बनाउनुपर्ने माग गरिएको छ । 

प्रदर्शनको अगुवाई गरिरहेकी संस्थाकी संस्थापक जेनिन हेण्ड्रीले हाम्रो समाजमा अहिलेपनि संस्थागत असमानता कायमै रहेका कारण महिलामाथि यौनिक हिंसा हुने गरेको बताईन् । उनले केही सातापहिले मात्र स्थापना गरेको सो संस्थालाई अहिले करीब ४० हजारले फलो गरेका छन् । उनले आफूहरुले संस्थागत परिवर्तन नभएसम्म आफ्नो आवाजलाई अझ उठाइरहने बताएकी छन् । अस्ट्रेलियाका विभिन्न ४० स्थानमा प्रदर्शन गरिएको स्थानीय समाचारसंस्था एसबीएसले जनाएको छ । 

सिड्नी, क्यानबेरा, मेलबर्न, ब्रिसबनका साथै ग्रामीण भेगका शहरमा आयोजित प्रदर्शनमा समेत ठूलो संख्यामा महिलाको सहभागिता रहेको थियो । आयोजकले प्रधानमन्त्री स्कट मरिसन र उपप्रधानमन्त्री माइकल मकोम्र्याकलाई समेत र्‍यालीमा सहभागिताका लागि अनुरोध गरेका भएपनि उनीहरुले ब्यस्तताका कारण सहभागिता जनाउन नभ्याउने बताएका थिए ।

प्रधानमन्त्री मरिसनले कार्यक्रम आयोजकलाई महिलामन्त्री मरिस पेइनको सहभागितामा अलग्गै भेट्नका लागि प्रस्ताव गरेका भएपनि सो प्रस्तावलाई आयोजकले अस्वीकार गरेको थियो । प्रधानमन्त्री मरिसनले महिलामाथि हुने सबै प्रकारको हिंसाको अन्त्य गर्नु सरकारको उच्च प्राथमिकता रहेको दोहोऱ्याउनुभयो । सोमबार संसदमा बोल्दै उहाँले महिलाले आयोजना गरेको र्‍यालीको प्रशंसा गर्नुभयो ।

राजधानी क्यानबेरामा आयोजित हजारौंको ऱ्यालीलाई सम्बोधन गर्दै हिगिन्सले आफूहरु अन्य महिलामाथि हुने शारीरिक हिंसाको अन्त्यका लागि अघि आउन बाध्य भएको बताइन् । उनले आफूहरु यहाँ आउनु चाहना नभई बाध्यता भएको समेत बताएकी थिईन् । ऱ्यालीमा सहभागी महिलाले शारीरिक हिंसाका विरुद्धमा सरकारी कदम प्रभावकारी नभएको बताएका थिए भने केही सहभागीले कालो पोशाक लगाएर विरोध जनाएका थिए । 

आयोजकले सोमबार आयोजना गरिएको ऱ्याली महिलाद्वारा आयोजित अहिलेसम्मकै ठूलो प्रदर्शन भएको हुन सक्ने दाबी गरेको बीबीसीले उल्लेख गरेको छ । आयोजकले प्रधानमन्त्री मरिसनलाई सम्बोधन गर्दै ९४ हजारद्वारा हस्ताक्षरित पेटिसन विपक्षी दलकी सांसद तान्या पिल्बरसेक र ग्रिन पार्टीकी सिनेटर लारिसा वाटरसले स्वीकारेका थिए । उनीहरुले ऱ्यालीमा सहभागिता समेत जनाएका थिए ।

यौन दुर्व्यवहार रोक्न शिक्षाको तयारी

अस्ट्रेलियाले देशभरि रहेका सबै विद्यालयमा सम्मानजनक सम्बन्ध, विद्यार्थीमाथि हुने शारीरिक शोषण र यौनिक अनुमतिका विषयमा शैक्षिक कार्यक्रम गर्ने तयारी गरेको छ । पूर्व विद्यार्थी चानेल कन्टोसले यस सम्बन्धी शिक्षा विद्यालयतस्तरबाट नै आवश्यक भएको भन्दै अभियान सुरु गरेपछि सरकारले प्राथमिक तहदेखि नै यस किसिमका शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने तयारी गरेको हो ।

पछिल्लो समयमा अस्ट्रेलियामा महिलामाथि भएका शारीरिक हिंसाका घटना सार्वजनिक हुँदै गएपछि यस सम्बन्धी शिक्षा आवश्यक भएको आवाज उठिरहेको थियो । कन्टोसले केही साता पहिले सुरु गरेको अभियानमा ३० हजार बढीले हस्ताक्षर गरेको र ३ सयबढी महिलाले आफूमाथि शारीरिक शोषण भएको सार्वजनिक गरेपछि सरकारलाई यस सम्बन्धी कार्यक्रम ल्याउन दबाब परेको समाचारमा जनाएको छ । 

अस्ट्रेलियाका शिक्षामन्त्री एलन टजले आउँदो केही सातामा नै राष्ट्रिय रुपमा शिक्षा सुहाउँदो यस सम्बन्धी समग्रीहरु वितरण गरिने जानकारी दिनुभयो । सरकारले प्रदान गर्ने शैक्षिक सामग्रीमा सम्मानजनक सम्बन्ध, शारीरिक शोषण र अनुमति सम्बन्धी विषयहरु समावेश हुने उहाँले बताउनुभयो । शिक्षामन्त्री टजले कन्टोसले सुरु गरेको अभियानको सह्राना गर्दै यति धेरै महिलाहरु आफ्नो कुरा राख्न अघि आएकोमा आफू स्तब्ध भएको बताउनुभयो । 

अस्ट्रेलियाका विभिन्न राज्यमा यौन शिक्षा र यौनिक अनुमति सम्बन्धी शिक्षा सामान्यतया माध्यमिकस्तर र विश्वविद्यालयमा दिइने गरिएको छ । यद्यपि, यस सम्बन्धी शिक्षा राष्ट्रिय रुपमा एकै हुनुपर्ने र सानै उमेरदेखि सुहाउँदो शिक्षा उपलब्ध गराउनुपर्ने आवाज उठिरहेको छ । यस क्षेत्रमा काम गर्ने विज्ञले राष्ट्रिय स्तरमा यस किसिमका शिक्षा दिनसके शारीरिक शोषण र अन्यायका घटनामा कमी आउने समेत दाबी गरेका छन् । 


प्रतिक्रिया