उच्च संकट निम्तने भन्दै तयार रहन नागरिकलाई उत्तर कोरियाली नेता किमको आग्रह

चैत्र २७, २०७७ | काठमाडौं

उत्तर कोरियाका नेता किम जोङ उनले मुलुकमा उच्च संकट निम्तन सक्ने भन्दै तयारी अवस्थामा रहन आफ्ना नागरिकलाई आग्रह गर्नुभएको छ । मानव अधिकार सम्बन्धी समुहहरुले उत्तर कोरियामा चरम खाद्य संकट र आर्थिक अस्थिरता खेपिरहेको बताइरहेका बेला नेता किमको यस्तो भनाई सार्वजनिक भएको हो । 

पार्टीको सम्मेलनलाई सम्बोधन गर्दै नेता किमले अब आउनसक्ने अवस्थालाई सन् १९९० को दशकमा भोगेको भोकमरीको अवस्थासँग तुलना गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । कोरोना भाइरस महामारीका कारण उत्तर कोरियाले आफ्ना सीमा नाका बन्द गरेको छ । यसले उत्तर कोरियाको लाईफलाईन मानिएको चीनसँगको व्यापार रोकिएको छ । 

साथै आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चर्को नाकाबन्दी लगाएका छन् । उत्तर कोरियामा निम्तने कठिनाईबारे विरलै मात्र स्वीकार्दै आएका नेता किमले कठिनाईबाट आफ्ना जनतालाई राहत दिन अर्डुअस मार्चका लागि नेताहरुलाई आहृवान समेत गर्नुभएको छ । सन् १९९० को दशकमा भएको भोकमरीविरुद्ध भएको संघर्षलाई अर्डुअस मार्च भनिने गरेको छ । ततकालिन समयमा सोभियत युनियन विगठन भएपछि कुनै पनि सहयोग नजुट्दा उत्तर कोरियामा चरम भोकमरी भएको थियो । 

जसका कारण करिब ३० लाख मानिसको मृत्यु भएको थियो । पछिल्लो समय भने चीनसंगको सीमा नाका बन्द हुँदा सो क्षेत्रमा चरम अभाव छाएको छ । सो क्षेत्रमा सामान तस्करीबाट ठूलो आम्दानी हुँदै आएको थियो । साथै दुर्गम स्थानहको मुख्य आहारा मकैको मुल्य पनि उल्लेख्य बढेको छ । कतिपयको एक महिनाको तलवले एक किलो मकै समेत किन्न नसक्ने अवस्था आएको छ । भोकमरीकै कारण सीमा क्षेत्रमा कयौंले ज्यान गुमाएको मानवअधिकारकमीले बताएका छन् ।  


प्रतिक्रिया