भारतद्वारा फेरि रेमडेसिभरको निर्यातमा रोक

चैत्र २९, २०७७ | काठमाडौं

भारत सरकारले फेरि रेमडेसिभर इन्जेक्सनको निर्यातमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण तिब्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निर्यातमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितमाथि यो औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ । मन्त्रालयद्धारा जारी विज्ञप्तीमा पछिल्लो समय भारतमा कोरोना केस बढेसंगै कोरोना विरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभर इन्जेक्सनको माग ह्वात्तै बढेको उल्लेख छ । आगामी दिनमा माग अझै बढ्ने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

भारतमा विगत केही दिन यता संक्रमण तीब्र बनेको छ । हालसम्म कुल संक्रमितको संख्या १ करोड ३३ लाख नाघेको छ । त्यसमध्ये संक्रिय संक्रमितको संख्या दशलाखभन्दा बढी छ । त्यसैगरी दैनिक मृत्यु दर पनि बढ्दो क्रममा छ । भारतमा हालसम्म कोरोना महामारीले १ लाख ६९ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । भारतको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले परिस्थितिमा सुधार नआउन्जेल रेमडेसिभर इन्जेक्सन र रेमडेसिभर भएका औषधीजन्य पदार्थको निर्यातमा रोक लगाएको मन्त्रालयले उल्लेख गरेको छ ।

गत वर्ष पनि भारतले यही समयमा रेमडेसिभरको निर्यातमा रोक लगाएको थियो । नेपालमा मुख्यगरी भारतबाटै रेमडेसिभर आयात हुँदै आएको छ । भारतले नै निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको मूल्य अकाशिन पुगेको थियो । बजारमा पर्याप्त उपलब्ध नहुँदा कतिपय विरामीले तीन डोज एक भाइल एक लाख रुपैयाँसम्म तिरेका थिए । जबकि सामान्य अवस्थामा त्यसको मूल्य बढीमा सात हजार रुपैयाँसम्म पर्ने गर्छ । बजारमा चर्को अभाव भएपछि स्वास्थ्य सेवा विभागले थप तीनवटा कम्पनीलाई रेमडेसिभर ल्याउने अनुमति दिएको थियो । बजारमा सहजै उपलब्ध नभएपछि कतिपय विरामीले चर्को मूल्य तिरेर भएपनि भारतबाट मगाएका थिए । 


प्रतिक्रिया