संक्रमण बढेपछि भारतको दिल्लीमा शुक्रबारबाट कर्फ्यु

वैशाख २, २०७८ | नयाँदिल्ली

कोरोना भाइरस संक्रमण फैलने क्रम तीब्र बनेपछि भारतको राजधानी दिल्लीमा शुक्रबार रातिबाट कर्फ्यु आदेश जारी गरिएको छ । जसअनुसार दिल्लीमा शुक्रबार राति दश बजेदेखि सोमबार बिहान ६ बजेसम्म कफ्र्यू लाग्ने छ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार भच्र्युअल पत्रकार सम्मेलन मार्फत् कर्फ्यु बारे जानकारी गराएका हुन् । कफ्र्यू अवधिभित्र अत्यावश्यक सेवा र अन्तरराज्य सार्वजनिक यातायात भने चालू रहनेछ । तर, सबै किसिमका बजार, मलहरु बन्द रहनेछन् । 

सिनेमा हल भने तीस प्रतिशत क्षमतामा चल्न दिइने भएको छ । निजी कार्यालयहरुलाई घरबाटै काम गराउन व्यवस्था मिलाउन निर्देशन दिइने मुख्यमन्त्री केजरीवालले बताउनुभयो । मुख्यमन्त्री केजरीवाल र उच्च अधिकारीबीच बिहीबार बिहान भएको छलफल यस्तो निर्णय लिइएको हो । 

दिल्लीमा केही दिनयता कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । बुधबार मात्र १७ हजार २८२ जना नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु भएयताकै उच्च दर हो । मुख्यमन्त्री केजरीवालले संक्रमणको सांग्लो तोड्न कर्फ्यु लगाउने निर्णय गरिएको बताउनुभयो । 

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो छ । बुधबार मात्र सय जनाको मृत्यु भएको थियो । विगत केही दिनयता भारतमा कोरोना संक्रमणले रेकर्ड बनाइरहेको छ । 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको थियो । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । संक्रमणबाट १ हजार ३८ जनाको ज्यान गएको थियो । 

यसैबीच कुम्भमेलाका लागिरहेको भारतको हरिद्वारमा केही वरिष्ठ सन्तसहित एक हजार भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । दुई महिनासम्म चल्ने सो मेलाको मुहूर्तका क्रममा अस्ती मंगलबार ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गा स्नान गरेका थिए । मेलाका क्रममा दैनिक लाखौँ मानिसले गङ्गा नदीमा स्नान गर्ने आयोजकले जनाएको छ ।  


प्रतिक्रिया