भारतको दिल्लीमा थप एक साता कर्फ्यु

वैशाख ६, २०७८ | नयाँदिल्ली

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा थप एक साताका लागि कर्फ्यु घोषणा गरिएको छ । कफ्र्यू आज (सोमबार) रातिदेखि आगामी सोमबार बिहानसम्म लागू हुनेछ । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपराज्यपाल अनिल बैजल र उच्च अधिकारीहरुबीच सोमबार बिहान भएको छलफलपछि कर्फ्युको समयावधि लम्ब्याउने निर्णय गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यसको औपचारिक जानकारी केही बेरमा मुख्यमन्त्री केजरीवालले भर्चुअल पत्रकार सम्मेलन मार्फत् गराउने जनाएको छ । 

विगत केही दिनयता भारतका दिल्ली लगायत प्रमुख राज्यहरुमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । आइतबार दिल्लीमा २५ हजार ४६२ नयाँ संक्रमित थपिएका छन् । जुन कोरोना महामारी सुरु यताकै सबैभन्दा बढी हो । 

दिल्लीमा स्वास्थ्य परीक्षण गरिएकाहरु प्रत्येक तीन मध्ये एक जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । दिल्ली सरकारले संक्रमण रोक्न भन्दै शनिबार र आइतबार पनि कफ्र्यू लागू गरेको थियो । त्यसैगरी दिल्लीमा गत ६ अप्रिलदेखि आगामी ३० अप्रिलसम्मका लागि घोषणा गरिएको रात्रीकालीन कर्फ्यु कायमै छ । 

भारतमा कोरोना संक्रमणले प्रत्येक दिन नयाँ रेकर्ड बनाइरहेको छ । आइतबार मात्र २ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी १ हजार ६१९ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै बढी हो । संक्रमणले भयावह रुप लिएसँगै भारतको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनेको छ । 

प्रमुख शहरहरुमा अक्सिजन र बेडको चरम अभाव देखिएको छ । विशेषगरी राजधानी दिल्ली, मुम्बई, लखनऊ, अहमदावाद, पुने लगायत शहरमा अक्सिजन नपाएर संक्रमितले ज्यान गुमाउनु परेको छ । 

दिल्लीका मुख्यमन्त्री केजरीवालले नै आइतबार साँझ ट्वीट गर्दै अक्सिजनको चरम अभाव भएको बताएका थिए । त्यस्तै, अस्पतालमा बेड नहुँदा बिरामीहरुको भूइँ र खुला आकाशमुनि नै उपचार भईरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


प्रतिक्रिया