भारतमा १८ वर्षमाथिका सबैलाई खोप

वैशाख ७, २०७८ | नयाँ दिल्ली

कोरोना संक्रमण भयावह बन्दै गएपछि भारत सरकारले खोप अभियान तीब्र पार्ने भएको छ । भारत सरकारले तेस्रो चरणको खोप अभियानअन्तर्गत यही बैशाख १८ गतेदेखि अठार वर्षमाथि उमेरका सबैलाई खोप लगाउने निर्णय लिएको छ । 

कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भइरहेका बेला यस्तो निर्णय लिइएको हो । भारतमा १६ जनवरी देखि खोप अभियान शुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । त्यसैगरी खोपलाई खुला बजारमा बेच्न पनि खुला गरिएको छ । 

यसअघि खोपको बिक्रिबितरण भारत सरकारको प्रत्यक्ष निर्देशनमा हुँदै आएको थियो । खोप उत्पादकहरुले उत्पादनको पचास प्रतिशत केन्द्र सरकारलाई बाँकी राज्य सरकार वा निजी क्षेत्रलाई दिन पाउने निर्णय पनि गरिएको छ । त्यसैगरी खोप उत्पादन क्षमता बढाउनका लागि अनुदान दिने निर्णय समेत गरेको छ । 

आइतबारसम्ममा भारतमा १२ करोड ३८ लाखभन्दा बढीले खोप लगाइसकेका छन् । तर, पनि कतिपय राज्यमा खोप अभावका कारण खोप कार्यक्रम नै स्थगित गरिएका छन् । भारत सरकारले जुलाईको अन्त्यसम्ममा २५ करोडलाई खोप लगाउने लक्ष्य राखेको छ । 


प्रतिक्रिया