दिल्लीमा थप एक साता लकडाउन

वैशाख १२, २०७८ | नयाँदिल्ली

भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसको महामारीका अवस्था भयावह बन्दै गएपछि जारी लकडाउन थप एक साताका लागि लम्ब्याइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गर्नुभयो । 

कोरोना संक्रमणको सांग्लो तोडन भन्दै दिल्ली सरकारले अघिल्लो सोमबार एक सााताका लाागि लकडाउन लागू गरेको थियो । तर, संक्रमणमा अपेक्षाकृत ढंगले कमी नआएपछि सोमबार बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै मुख्यमन्त्री केजरीवालले ३ मे बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नु भएको थियो । 

दोस्रो चरणको लकडाउन सोमबार साँझ दश बजेदेखि लागू हुनेछ । दिल्लीको अन्य राज्यहरुको तुलनामा संक्रमण दर पनि उच्च रहेको छ । दैनिक परीक्षणमा करीब ३७ प्रतिशतका दरले कोरोना पुष्टि भइरहेको छ । संक्रमणमा अघिल्लो साता भन्दा थोरै गिरावट देखिएपनि अवस्था अझै पनि भयावह छ । 

दिल्लीमा शनिबार मात्रै २४ हजार १०३ नयाँ संक्रमित थपिएका छन् । ३५७ जनाको मृत्यु भएको थियो । शनिबार थपिएका सहित दिल्लीमा सक्रिय संक्रमितको संख्या करीब एक लाख पुगेको छ । संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको । 

अस्पतालहरुमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा सयौंले ज्यान गुमाएका छन् । बिहीबार र शुक्रबार मात्र दिल्लीका दुई वटा अस्पतालमा अक्सिजन अभावका कारण ४५ जनाको मृत्यु भएको थियो । त्यसैगरी बिरामीको चाप बढेकाले अस्पतालहरुले नयाँ बिरामी भर्ना लिन छाडेका छन् ।


प्रतिक्रिया