विद्यार्थीलाई होस्टल छाड्न साउथ एसियन युनिभर्सिटिको उर्दी

वैशाख १३, २०७८ | नयाँदिल्ली

भारतको दिल्लीस्थित साउथ एसियन् युनिभर्सिटी (साउ) ले त्यहाँ अध्ययनरत आवासीय विद्यार्थीहरुलाई होस्टल छाड्न आदेश दिएको छ । कोरोना भाइरसको महामारीका कारण दिल्लीमा गम्भीर स्वास्थ्य संकट देखा परेको भन्दै युनिभर्सिटिले त्यहाँ अध्ययनरत आवासीय विद्यार्थीहरुलाई होस्टल छाड्न आदेश दिएको हो । 

सोमबार साउ प्रशासनले एउटा सूचना जारी गर्दै दिल्लीको चाणक्यपुरीस्थित अकबर भवनको होस्टलमा रहेका सबै विद्यार्थीलाई १० मे भित्र खाली गर्न आदेश दिएको हो । साउद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै विद्यार्थीहरुलाई उनीहरुको व्यक्तिगत सुरक्षाका लागि १० मे भित्र अकबर भवनस्थित होस्टल कोठा र परिसर खाली गरेर आ–आफ्नो घर र बस्ने ठाउँका लागि प्रस्थान गर्नुपर्नेछ ।’ 

साउले महामारीका कारण दिल्ली गम्भीर स्वास्थ्य संकटमा रहेको र विद्यमान स्वास्थ्य पूर्वाधारले बिरामीको चाप थेग्न नसक्ने र आगामी दिनमा परिस्थिति थप भयावह बन्न सक्ने देखेर होस्टल खाली गर्ने निर्णय लिएको जनाएको छ । ‘सञ्चार माध्यम, राज्य सरकार एवं अस्पतालहरुद्वारा जारी प्रेस विज्ञप्तिले अक्सिजन, बेड र औषधिको चरम संकट देखाएको र साउका केही विद्यार्थीले पनि त्यस्तै परिस्थितिको सामना गर्नुपरेकाले होस्टल खाली गर्ने निर्णयमा पुगेका हौं’ विज्ञप्तिमा भनिएको छ । 

साउमा सबै सार्क मुलुकका गरी ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ४० जना नेपाली विद्यार्थी छन् । हाल त्यहाँ दुई सय भन्दा बढी विद्यार्थी रहेको होस्टलका सिनियर वार्डेन तथा उपप्राध्यापक युवराज पोखरेलले बताउनुभयो । त्यसमध्ये हाल २० जना नेपाली विद्यार्थी रहेको पोखरेलले जानकारी दिनुभयो ।

प्रशासनले एकाएक होस्टल खाली गर्न सूचना जारी गरेपछि महामारीको त्रासमा रहेका नेपाली विद्यार्थीलाई कसरी घर जाने भन्ने चिन्ता थपिएको छ । उनीहरुको भनाईमा प्रशासनले होस्टल छाड्न भने पनि एकातिर हवाई टिकटको अभाव र अर्कोतर्फ सडक मार्गबाट जाँदा संक्रमणको अत्यधिक जोखिम भएकाले नेपाल जान सहज छैन । 

‘सम्भव हुनेजति गएको राम्रो हो । तर, सम्भव नहुनेलाई चाहिँ प्रशासनले सुरक्षित रुपमा फ्लाइटमा टिकट पाउन असम्भव छ, सडकबाट जाँदा कोरोना सर्ने डर छ र अन्तर्राष्ट्रिय सीमा पनि बन्द हुने हल्ला छ । त्यसैले यस्तो अवस्थामा क्याम्पस प्रशासनले होष्टलमा नै बस्न चाहने विद्यार्थीको लागि सुरक्षित रुपमा बस्ने र आपतकालीन अवस्थामा औषधोपचारको व्यवस्था गर्नुपर्छ’ साउमा पीएचडी गर्दै गरेका नेपाली विद्यार्थी महेश्वर गिरीले भने ।

तर, केही विद्यार्थीहरुले भने प्रशासनले उर्दीको शैलीमा सूचना गरेर विद्यार्थीप्रतिको दायित्वबाट पन्छिन खोजेको आरोप लगाए । ‘आफ्ना विद्यार्थीहरुलाई क्याम्पस हाताभित्रै सुरक्षित राख्न सावधानीका न्यूनतम उपायहरुमा जोड दिनुको साटो स्वास्थ्य विज्ञहरुले नै यस्तो बेलामा यात्रा नगर्नु भनिरहेका बेला जोखिमपूर्ण यात्राका लागि बाध्य बनाउनुले प्रशाासनमा भएका मानवीय संवेदनहीन र आफ्नो दायित्वबाट भाग्न खोजेको प्रष्ट हुन्छ’ आक्रोशित मुद्रामा एक नेपाली विद्यार्थीले भने ।

होस्टलका सिनियर वार्डेन पोखेरेलले विद्यार्थीहरुको जीवन सुरक्षाका लागि भनेर नै विश्वविद्यालयले पछिल्लो निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नै करीब ३५ जना संक्रमित भइसकेका छन् । होस्टल भवन, मेस एउटै छ । कुनै पनि बेला संक्रमणले विस्फोटक रुप लिन सक्छ । उनीहरुको जीवन रक्षाका लागि नै यो निर्णय लिएका हौं ।’

तर, सूचना जारी भयो भन्दैमा प्रशासनले जीवन नै खतरामा पारेर विद्यार्थीलाई जाउ भन्न नखोजेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘सबैलाई थाहा छँदैछ दिल्लीको पछिल्लो अवस्था । उपचार पाउने अवस्था छैन । नेपाली विद्यार्थीलाई केही भइहाल्यो भने दूतावास र सरकारले पनि केही नगर्ने हुँदा विद्यार्थीहरुकै लागि त्यस्तो आग्रह गरिएको हो ।’ 

महामारी विकराल बन्दै गएकाले विद्यार्थीहरु आफैले परिस्थिति बुझ्छन् भन्ने प्रशासनको बुझाई रहेको उहाँको भनाई छ । नोभेम्बर २००५ मा बंग्लादेशको ढाकामा सम्पन्न १३ औं सार्क शिखर सम्मेलनमा विश्वस्तरीय शैक्षिक जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित दक्षिण एसियाली विश्वविद्यालय (साउ) स्थापना गर्ने निर्णय भएको थियो । औपचारिक पठनपाठन भने अगष्ट २०१० देखि दिल्लीकै जहावरलाल नेहरु विश्वविद्यालयकै परिसरबाट शुरु गरिएको थियो । पछि जुलाई २०११ मा चाणक्यपुरीस्थित अहिले कै अकबर भवनमा सारिएको हो । 

साउको सञ्चालनको खर्च मध्ये भारतले ५७ दशमलव ३८ प्रतिशत, पाकिस्तानले १३ दशमलव ०९ प्रतिशत, बंगलादेशले ८ दशमलव २० प्रतिशत, नेपाल र श्रीलंका दुबैले ४ दशमलव ९२ प्रतिशत र भुटान, अफगानिस्तान र माल्दिभ्स प्रत्येकले ३ दशमलव ८३ प्रतिशतका दरले व्यहोर्दै आएका छन् । साउको पूँजीगत खर्च भने पूर्ण रुपमा भारतले नै व्यहोर्ने व्यवस्था छ ।


प्रतिक्रिया