भारतमा राष्ट्रव्यापी लकडाउन गर्न दवाव

वैशाख २७, २०७८

भारतमा दैनिक कोरोना संक्रमण पुष्टी हुनेको संख्या उच्च भएसँगै राष्ट्रव्यापी लकडाउन गर्न दवाव परेको छ । भारतका धेरै राज्यमा महिनौ देखी लकडाउन तथा निषेधाज्ञा लगाइएपनि संक्रमण नियन्त्रण उन्मुख नभएको भन्दै सरकारले दवाव खेपिरहेको छ । पहिलो लहरको संक्रमण जस्तै दोस्रो लहरको संक्रमणलाई राष्ट्रव्यापी लकडाउन गरेर नियन्त्रणमा लिन दवाव परिरहेको रोयटर्सले जनाएको छ । २ महिना अघिको कुम्भ मेलामा ठुलो संख्यामा भिडभाड गर्न दिएको तथा चुनावी प्रचार प्रसारमा भारी संख्यामा भिडभाड गराएको भन्दै प्रधानमन्त्री मोदीको आलोचना हुँदै आएको छ । 

अमेरिकाको म्यासाच्युसेट्स इष्न्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक विपिन नारागले सरकारी असफलतका कारण संक्रमणले भयावह रुप लिएको ट्वीट गर्नु भएको छ । प्रमुख प्रतिपक्षी कंग्रेसकी प्रमुख सोनिया गान्धीले खोप वितरण नगरेर आफ्नो स्वार्थ पुर्तीका लागि सरकार लागेकाले संक्रमणले भयावह रुप लिएको आरोप लगाउनुभएको छ । 

पछिल्लो समय भारतमा ३ लाख ६६ हजार १ सय ६१ जनामा संक्रमण पुष्टी हुँदा ३ हजार ७ सय ५४ जनाको कारण मृत्यु भएको छ । भारतमा हालसम्म २ करोड २० लाख ६६ हजार जनामा संक्रमण पुष्टी भएको छ । २ लाख ४६ हजार १ सय १६ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । अस्पतालहरुमा अक्सिजन तथा बेडको अभाव चर्किएको छ । 


प्रतिक्रिया