बुधबारबाट अन्तर्राष्ट्रिय सीमा खुला गर्ने अस्ट्रेलियाको निर्णय

मंसिर २८, २०७८ | अस्ट्रेलिया

अस्ट्रेलियाले भोलि बुधबारदेखि विद्यार्थी तथा भिसा बाहक विदेशी नागरिकका लागि अन्तर्राष्ट्रिय नाका खुला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भएपनि कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनलले सो निर्णय दुई साताका लागि स्थगित गर्नु भएको थियो । 

प्रधानमन्त्री मरिसनका साथै स्वास्थ्यमन्त्री ग्रेग हन्ट लगायतले ओमिक्रोन भाइरसका बारेमा थप जानकारी हासिल गर्नका लागि भन्दै डिसेम्बर एकदेखि सीमा खोल्ने भनिएकोमा डिसेम्बर १५ तारिकसम्मका लागि लम्ब्याएका थिए । सो निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थी समेत प्रत्यक्ष प्रभावित भएका थिए । 

सोमबार प्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले डिसेम्बर १५ बुधबारदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताउनु भएको थियो । अन्तर्राष्ट्रिय सीमा खोल्ने अस्ट्रेलिया सरकारको निर्णयसँगै नेपालमा रहेका विद्याथीलाई राहत मिलेको छ । बुधबारदेखि विद्यार्थीका साथै टीआर भिसामा रहेका विदेशी नागरिकका साथै उनीहरुका अभिभावक, दक्ष कामदार भिसा भएका नागरिकले अस्ट्रेलिया प्रवेश पाउने छन् ।

कहाँ र कसरी आउन पाईन्छ ?

अस्ट्रेलियाको केन्द्रीय सरकारले करीब २० महिनादेखि बन्द रहेको आफ्नो अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय गरेको भएपनि सबै राज्यहरुमा सहजै प्रवेश भने पाईन्न् । यहाँ रहेका ६ राज्य तथा दुई टेरीटोरीका अलग अलग नियम भएका कारण विद्यार्थीलाई सो जानकारी लिन अस्ट्रेलियामा रहेका विद्यार्थीका क्षेत्रमा काम गरिरहेका विज्ञको सुझाव छ । अस्ट्रेलियाले आफ्नो नियमन निकाय थ्योरोपेटिक गुड्स एडमिनिस्ट्रसन (टीजीए) बाट स्वीकृत गरिएका पूर्ण खोप लगाएको हुनुपर्नेछ भने ३ दिनअघि पीसीआर परीक्षण नेगेटिभ आएको हुनुपर्नेछ ।

अस्ट्रेलियाली सरकारको आधिकारिक जानकारी अनुसार तत्कालका लागि न्यू साउथ वेल्स, भिक्टोरिया र राजधानी रहेको क्यापिटल टेरिटोरीमा आउने विदेशी नागरिकले जम्मा ३ दिन सेल्फ आइसोलेसन वा क्वारेन्टाईनमा बस्नुपर्नेछ भने अन्य अधिकांश राज्यले १४ दिनको क्वारेन्टाईन तोकेका छन् । यी तीन राज्य बाहेकका अन्य राज्यले पूर्ण खोप लगाइसकेको भएपनि विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टाईन बस्नुपर्ने नियम लगाएका छन् । यद्यपि, १४ दिनको क्वारेन्टाईन बस्न र सरकारले तोकेको शुल्क तिर्न सक्ने अन्तर्राष्ट्रिय विद्यार्थी लगायतका योग्य भिसाबाहक नागरिकलाई अन्य राज्यले समेत प्रवेश अनुमति भने दिनेछ । 

विभिन्न राज्यले १४ दिनका लागि कम्तिमा ३ हजार अस्ट्रेलियन डलर क्वारेन्टाईन शुल्क तोकेका छन् । अस्ट्रेलिया आउने विदेशी नागरिकले क्वारेन्टाईन वा आइसोलेसन बसेको समयमा समेत निश्चित दिनमा कोरोना जाँच गर्नुपर्ने प्रावधान राखिएको छ भने हरेक राज्यले प्रवेश अघि फारम भर्नुपर्ने नियम समेत राखेका छन् । नेपाली कानुन व्यवसायी संजीव पाण्डे सरकारको यो निर्णयले हजारौं नेपाली बिद्यार्थीलाई राहत मिलेको सुनाउँछन् । 

‘झण्डै २ बर्षदेखि अस्ट्रेलिया आउने पर्खाईमा रहेका बिद्यार्थीमात्र नभएर यहाँ आउने बाटो हेरेर बसेका अभिभावकलाई समेत अब यसले बाटो खुल्ला गरिदिएको छ ।’, पाण्डे भन्छन्, अर्काेतिर बिद्यार्थी अस्ट्रेलियाको अर्थतन्त्रको ठुलो हिस्सा भएकाले समेत अपेक्षित निर्णय आएको हो । यद्यपी उनले अस्ट्रेलियाली सरकारको आधिकारिक सुचनालाई आधार मानेर मात्र निर्णय गर्न समेत सुझाव दिएका छन् । 

अस्ट्रेलियाले यो चरणमा बिभिन्न २८ वटा भिसामा रहेका विदेशी नागरिकलाई अस्ट्रेलिया प्रवेशमा अनुमती दिदैछ । कोरोना भाइरसका कारण सीमा बन्द भएपछि यहाँको कृषिका साथै अधिकांश क्षेत्रमा कामदारको चर्काे अभाव देखिएको छ । सरकारको यो निर्णयले अस्ट्रेलियामा देखिएको जनशक्ति अभावलाई केही हदसम्म पुरा गर्ने अपेक्षा गरिएको छ । जनशक्ति अभाव पुरा गर्नका लागि सरकारले विद्यार्थीलाई दुई साताको ४० घण्टामात्र काम गर्न पाउने अधिकार कामदार नपुग भएका क्षेत्रमा तत्काललाई हटाएको छ । 


प्रतिक्रिया