अधिकार माग गर्दै अस्ट्रेलियाका हजारौं नर्स आन्दोलित

फाल्गुन ३, २०७८ | अस्ट्रेलिया

आफ्नो हकअधिकार तथा उचित हेरचाह पुर्‍याउन सक्ने स्वास्थ्य वातारणको माग गर्दै अस्ट्रेलियाको न्यू साउथ वेल्समा हजारौं नर्सहरुले प्रदर्शन गरेका छन् । 

आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीले हरेक सिफ्टमा एकजना नर्सले ४ जना मात्र बिरामी हेर्न पाउनुपर्ने र आफ्नो तलब २ दशमलव ५ प्रतिशतले वृद्धि गरिनुपर्ने माग राखेका छन् । प्रदर्शनमा न्यू साउथ वेल्समा रहेका १ सय ५० बढी अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए । 

उनीहरुले न्यू साउथ वेल्स राज्यको संसद भवन अगाडि र्‍याली सहित प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मीको विरोधको कार्यक्रमलाई स्थगित गर्न राज्यको निकाय इण्डस्ट्रियल रिलेसन कमिसन (आइआरसी) ले नर्सहरुको संगठनलाई आदेश दिएको भएपनि त्यसको बेवास्ता गर्दै मंगलबार प्रदर्शनमा गरिएको हो ।

 विरोध प्रदर्शनमा सहभागीले अहिले रहेको नर्स र बिरामीको अनुपात सही नभएको र त्यसले बिरामीलाई उपयुक्त हेरचाह र उपचार पुर्‍याउन नसकिने बताएका छन् । अस्ट्रेलियामा नर्स तथा बिरामीको अनुपात प्रत्येक नर्स बराबर सिफ्ट अनुसार ४ देखि ८ जनासम्म बिरामी हुने गरेका छन् । 

कोभिड संक्रमणलाई शुरुवाती चरणमै विभिन्न प्रतिबन्ध सहित नियन्त्रणमा लिएको अस्ट्रेलियाको स्वास्थ्य क्षेत्र ओमिक्रोनको संक्रमण अत्यधिक बढेसँगै टेस्टिङ लगायत कारण दबाबमा छ । जसका कारण नर्सहरुले समेत कामको दबाब झेल्नु परिरहेको गुनासो गर्दै आएका छन् ।

यसअघि नर्सहरुको संगठन र सरकारी प्रतिनिधिसँगबीचको छलफल सहमतिमा पुग्न सकेको थिएन् । 

राज्यका स्वास्थ्यमन्त्री ब्राड हर्जाडले सहमतिमा पुग्नका लागि सबै किसिमका पहलहरु भएपनि विरोधका कार्यक्रम हुनु दुखद भएको सिड्नीस्थित टुजीबी रेडियोलाई बताउनु भएको छ । तर, समाचार संस्था एसबीएसका अनुसार न्यू साउथ वेल्स नर्स तथा मिडवाईफ एसोसिएसनका अध्यक्ष ओब्यारी स्मिथले आफूहरुलाई छलफलमा केहीपनि प्रस्ताव नगरिएको बताउनुभयो ।


प्रतिक्रिया