सिड्नीको रेल सेवा ठप्प

फाल्गुन ९, २०७८

अष्ट्रेलियाको न्यु साउथ वेल्समा चल्ने रेल सेवा सोमबार दिनभरि बन्द हुदा लाखौं यात्रु अलपत्र परेका छन् । कर्मचारीको संगठन र न्यु साउथ वेल्सको यातायात विभागबीच भएको छलफलमा सहमति हुन नसकेपछि सबै रेल सेवा बन्द गर्ने निर्णय गरिएको थियो । सरकारले सूचना जारी गरेर रेल सेवा बन्द रहने जनाएको थियो भने वैकल्पिक यातायातको ब्यवस्था गर्न आग्रह गरेको थियो । न्यु साउथ वेल्स सरकार र रेल, बस तथा ट्राम युनियनबीच तलब र अन्य काम गर्ने वातावरणका बारेमा सहमति हुन नसकेपछि रेल सेवा बन्द हुन पुगेको स्थानीय समाचारमाध्यमले उल्लेख गरेका छन् । 

सोमबार सिड्नी ट्रेनका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु लङ्गल्याण्डले सर्वसाधारणलाई रेल यात्राको भर नपर्न आग्रह गर्नु भएको छ । अहिले देखिएको समस्या समाधानका लागि आफुहरु लागिपरेपनि मंगलबार समेत रेल सेवा सुचारु हुने नहुने अझैपनि अन्यौल रहेको उहाँको भनाई छ । सिड्नीको रेलसेवा बन्द गरिएपछि काममा हिंडेका लाखौं यात्रु प्रभावित बनेका थिए । सिड्नीमा दैनिक लाखौं यात्रुले रेलबाट यात्रा गर्ने गर्दछन् । 


प्रतिक्रिया