विहार राजनीतिका सातिर खेलाडी नीतिश कुमार

श्रावण २५, २०७९ | काठमाडौं

राजनीतिमा न त कोही स्थायी मित्र हुन्छ न त शत्रु । यो भनाईलाई चरितार्थ पार्ने एक चर्चित व्यक्तित्व हुन्,विहारका मुख्यमन्त्री नीतिश कुमार । उनका लागि कुनै पनि पार्टीसँग जोडिनु र तोडिनु सामान्य विषय हो । सरकार परिवर्तन गर्ने कलामा उनी माहिर छन् । यही कुरालाई प्रमाणित गर्दै फेरि एकपटक राजनीतिक सारथी परिवर्तनसँगैे आठौं पटक उनी बिहारका मुख्यमन्त्री बनेका छन् । यसपटक भारतीय जनता पार्टीसँग सम्बन्ध विच्छेद गर्दै उनले राष्ट्रिय जनता दल, भारतीय राष्ट्रिय कांग्रेस र वाम दलहरुको समर्थनमा फेरि सरकार गठन गरेका हुन् । आफ्नो पूरानै साझेदार राष्ट्रिय जनता दलसँग जोडिएका नितिश कुमारको छेपारे नीतिले आजित बनेको विहारको राजनीति मात्रै नभई अहिले समग्र भारतको राजनीतिक वृत्त गर्माएको छ ।

विहारमा जुनसुकै दल होस्, तर जनता दल युनाइटेडका संस्थापक नीतिश कुमार सरकार बनाउनको लागि अनिवार्य शर्त बन्दै आएका छन् । भनिन्छ, नितिश कुमारसँग सत्तामा टिकिराख्ने यस्तो सूत्र छ जसले हरेक पटक उनलाई मुख्यमन्त्री बनाउँछ । बिहारको राजनीतिक अवस्था जस्तोसुकै होस्, जसले जे सुकै परिवर्तन गरोस्, मुख्यमन्त्री नितिश मात्रै रहन्छन् । अर्थात् सरकार नयाँ तर हरेकपल्ट अनुहार एउटै दोहोरिन्छ । त्यसो त, नितिशको पटक–पटकको आकस्मिक राजनीतिक कदमले भाजपा मात्र होइन अन्य दलहरु पनि हैरान छन् ।

सन् १९९० मा नीतिश लालु यादवसँग थिए, कत्तिसम्म भने नीतिशले यादवलाई आफ्नो ठूल्दाई मान्थे । तर त्यो साथ सन् १९९४मा टुट्यो । त्यसैबेला उनले जर्ज फनाण्डेजसँग मिलेर समता पार्टी बनाए । सन् १९९८ मा उनले यादवलाई छोडेर उनले बीजेपीसँग गठबन्धन गरे । तर फेरि सन् २००० मा शरद यादवसँग मिलेर उनले जनता यूनाइटेड पार्टी बनाए । सन् २००० को ३ मार्चमा तत्कालिन प्रधानमन्त्री अटल बिहारी वाजपेयीको सहमतिमा उनी पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए । सन् २००५ मा दोस्रो पटक मुख्यमन्त्री बनेपछि नीतीशले सुशासन बाबुका रूपमा चिनिए ।

सन् २०१३ मा उनले बीजेपीको साथ छोडेर महागठबन्धनसहितको सरकार बनाएका थिए । त्यतिबेला उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कारण देखाएका थिए । त्यतिबेला लोकसभा चुनावी प्रचारको जिम्मा मोदीलाई दिइएको थियो । सन् २०१५ मा यादवको पार्टी आरजेडीसँग मिलेर गठबन्धन बनाए । र मुख्यमन्त्री बने । फेरि सन् २०१७ फेरि नीतिशले महागठबन्धन तोडेर बीजेपीलाई नै आफ्नो सत्ता सारथी बनाए । सन् २०२०मा फेरि बीजेपीसँग मिलेर सरकार बनाए र अहिले त्यसको २ वर्षपछि फेरि उनले बीजेपीसँग गठबन्धन तोडेर कांग्रेससहित विपक्षी दलसँग महागठबन्धन गरेका छन् ।

आकस्मिक र अचानक रुपमा पार्टी परिवर्तन गर्न माहिर मानिएका नीतिशलाई लालु यादवले बिहारको राजनीतिमा पल्टीरामको संज्ञा सम्म दिएका थिए । यद्यपी अहिले फेरि नीतिशले उनै लालु यादवको पार्टीसँग हात मिलाएका हुन् । सत्ताका लागि जुनसुकै बेला पार्टी परिवर्तन गर्न पछि नपर्ने उनको राजनीतिक रणनीतिले उनलाई सन् २००० देखि आजसम्म आठौं पटक मुख्यमन्त्री बनाएको छ । उनको यो रणनीतिलाई विहार मात्रै नभई समग्र भारतीय राजनीतिलाई नै अवाक बनाएको छ । पछिल्लो उनको कदमपछि बीजेपीले बिहारका जनताको म्याण्डेडमाथि घात गरेका भन्दै आपत्ति जनाएका छन् । बीजेपी बिहारका अध्यक्ष सञ्जय जायसवाल नीतिशले विहारका जनतालाई धोका दिएको बताएका छन् । 'आज जे भएको छ, त्यो विहारका जनता र भाजपासंगका धोका हो । सन् २००५ भन्दा पहिलोको म्यान्डेड विपरित बिहारका जनताले दिएको म्यान्डेडको उल्लंघन हो । यसलाई भाजपा र बिहारका जनताले कुनै हालतमा माफी दिने छैनन् ।' उनले भने ।

बीजेपीकै अर्का नेता रविशंकर प्रसादले मुख्यमन्त्री बनाइराख्न बीजेपीले गरेको सहयोग, समर्थनलाई नीतिशले अवमूल्यन गरेको बताए । उनले भने, 'भाजपाको सीट तपाईको सिटको दोब्बर थियो, तर पनि त्यसको बदलामा केही चर्चा भएन, प्रधानमन्त्री नरेन्द्र मोदीले विहारको मुख्यमन्त्री नीतिश कुमार भनेरै घोषणा गर्नुभएको थियो, फेरि कसरी भन्न सक्नुहुन्छ कि भाजपाले तपाईलाई कमजोर बनाउने कोसिश गर्यो ?'

यद्यपी नीतिशले भने बीजेपीले भित्रभित्रै आफ्नो खिलाफ राजनीतिक गतिविधि गर्न थालेपछि सम्भावित जोखिम अन्तय गर्न पार्टीका नेता कार्यकर्ताकै सल्लाहमा गठबन्धन तोडेर नयाँ सरकार बनाएको दाबी गरेका छन् । विहारका जनताका लागि पछिल्लो कदम चालेको भन्दै उनले आफ्नै सत्ता मोहको बचाउ गरेका छन् । 'हामीले उनीहरुलाई सहयोग गर्यौं',  उनले भने, 'तर उनीहरुले हामीलाई नै हराउन खोजे, त्यसैले सबैको इच्छा अनुसार हामी पूरानै पार्टीमा फर्केने र अघि बढ्ने निर्णय गऱ्यौं, हामीले जे निर्णय लिएका थियौं त्यो पार्टीका सबै साथीहरुको सल्लाह र इच्छा अनुसार लिएको निर्णय हो ।'

हुन् त बीजेपी र आरजेडी यस्ता पार्टी हुन् जहाँ नीतिश इन र आउट भइरहन्छन् । उनको राजनीतिक अंकगणित तीव्र छ । जुन जोकोहीको सोचभन्दा बाहिर ठान्निछ । सत्तामा टिकिरहन उनले पक्ष र विपक्ष सबैसँग आफ्नो हिसाव दुरुस्त राखेका छन् । २४३ सदस्यीय बिहार विधानसभामा सरकार गठनका जेडीयूको ४५, बीजेपीको ७७ र अन्य ४ गरी १ सय २२ सिटमा नीतिशको बहुमत थियो छ तर बीजेपीबाट खतरा बढेको महसुस गर्न थालेका नीतिशले गठबन्धन नै तोडेर पछिल्लो महागठबन्धन गरे जस अनुसार समीकरण बदुलियो र फेरि उनी मुख्यमन्त्री बने । नयाँ समीकरण अनुसार उनको पार्टीका ४५ बाहेक आरजेडीका ७९, कांग्रेसको १९, बाम पार्टीको १६, हिन्दुस्तानी आह्वान मोर्चाका ४ र अन्य १ गरी १६४ विधायिका छन् ।

विकासको मामिलामा पुछारमा रहेको विहारमा उनले कानुनी शासन स्थापित गरे । सडक, पुल लगायतका संरचनाको उल्लेख्य विकास गरे र स्वास्थ्य र शैक्षिक क्षेत्रमा आमूल परिवर्तन ल्याए । समग्रमा बिहारीको औसत आम्दानी दोब्बर बनाउन उनको योगदान खास रह्यो । उनको वाहवाही भइरहेकै थियो तर सत्ताका लागि उनको राजनीतिक रबैयालाई लिएर भने आलोचना हुन थाल्यो । उनको छवि धुमिल बन्दै बन्दै गएको छ । यद्यपी फेरि मुख्यमन्त्री बनेका नीतिशले विहारका जनतालाई थप सुशासन दिन्छन् वा आफैं थप आलोचित बन्छन् यो भने समयले नै बताउँला । 

भारतीय सञ्चारमाध्यमको सहयोगमा  


प्रतिक्रिया