ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम सम्झौता
कार्तिक ९, २०८२ | काठमाडौं
विवादास्पद सीमाका कारण आपसी तनाव झेलिरहेका दक्षिण पूर्वी एसियाली मुलुक थाइल्याण्ड र कम्बोडियाबीच विस्तारित युद्धविराम सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी समारोहमा दुई देशबीच युद्धविराम सम्झौता भएको हो ।
गत बर्षदेखि सीमा विवादका कारण तनाव बढ्दै जाँदा थाइल्याण्ड र कम्बोडियाबीच गत जुलाई महिनामा केही दिन युद्ध समेत भएको थियो । सो तनाव अन्त्यका लागि अमेरिकाले दुवै देशलाई दवाव दिदै आएको थियो ।
थाइल्याण्ड र कम्बोडियाबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपति ट्रम्पले ऐतिहासिक कदम भन्नुभएको छ । मलेसियामा आयोजित दक्षिण पूर्वी एसियाली मुलुकको बार्षिक सम्मेलनमा भाग लिन एसियाको भ्रमणमा आएका अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो समारोहमा सहभागी हुनुभयो । उहाँले जापान र दक्षिण कोरियाको समेत भ्रमण गर्नुहुनेछ ।









