गोप्य जिम्मेवारी लिएको खुलेपछि समस्यामा अस्ट्रेलियाका पुर्व प्रधानमन्त्री मरिसन

भाद्र १, २०७९

निवर्तमान प्रधानमन्त्री स्कट मरिसनले आफु प्रधानमन्त्री भएको समयमा गोप्य रुपमा थप मन्त्रालयहरुको जिम्मेवारी लिएको खुलेपछि समस्यामा पर्नु भएको छ । उहाँले पद सम्हालिरहेका सबै मन्त्रीहरुलाई जानकारी नदिई ५ थप मन्त्रालयको जिम्मेवारी लिएको सार्वजनिक भएपछि सांसद पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको छ । मरिसनले भने आफुले आपतकालीन अवस्थाका लागि थप जिम्मेवारी लिएको बताउँदै संसदबाट राजीनामा नदिने अडान लिनु भएको छ । ४ बर्षसम्म अस्ट्रेलियाको प्रधानमन्त्री बनेका मरिसनले कोभिड संक्रमणताका स्वास्थ्य, अर्थ, गृह, ट्रेजरी र उर्जा, विज्ञान तथा स्रोतमन्त्रीको जिम्मेवारी वहन गरेको दुईदिनअघि सार्वजनिक भएको हो । 

उहाँले थप लिएको जिम्मेवारी ती मन्त्रालय अन्तरगतकै मन्त्रीहरुलाई समेत जानकारी नदिई गोप्य राखेको भन्दै उहाँकै दलका केही नेताले समेत असन्तुष्टि जनाएका छन् । घटना सार्वजनिक भएपछि प्रधानमन्त्री एन्थोनी अल्बानिजीले प्रधानमन्त्री कार्यलयसँग थप विवरण माग्नु भएको थियो । अल्बानिजीले आफ्ना पुर्वप्रधानमन्त्रीको सो कार्यलाई असाधारण र लोकतन्त्रको मुल्यमान्यता विपरित भएको बताउनु भएको छ । मरिसनले थप मन्त्रालयको जिम्मेवारी लिएपनि त्यसबापत तलब भने नलिएको जनाइएको छ । 

मरिसनले थप मन्त्रालयको समानान्तर जिम्मेवारी लिएको सार्वजनिक भएपछि संसदबाट राजीनामा दिनुपर्ने आवाज समेत उठेका छन् । ब्यापक आलोचना भएपछि बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै पुर्व प्रधानमन्त्री मरिसनले आफ्नो कदमको बचाउ गर्नु भएको छ । कोभिड संक्रमणताका राम्रो काम गरेर चर्चा कमाएका लिबरल गठबन्धनका तत्कालिन नेता समेत रहेका मरिसनले केही महिनाअघि सम्पन्न निर्वाचनमा हार ब्योहोर्नु भएको थियो । पूर्वप्रधानमन्त्री मरिसनले थप पाँचवटा मन्त्रालयको जिम्मेवारी समानान्तर रुपमा लिनुपऱ्यो भन्ने बिषय अस्ट्रेलियाली राजनीतिमा चर्चाको बिषय बनेको छ । 


प्रतिक्रिया