डेनमार्कमा सबैभन्दा कम र सोमालयिामा सबैभन्दा बढी भ्रष्टाचार

माघ १७, २०७९

ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२२ सार्वजनिक गरेको छ । यस वर्ष सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् । यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउने र ५० भन्दा कम अंक प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा मानिने गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रुपमा रहेको उल्लेख गरिएको छ । सीपीआई २०२२ मा दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ६८, मालदिभ्सले ४०, भारतले ४०, श्रीलंकाले ३६, नेपालले ३४, पाकिस्तानले २७, बंगलादेशले २५ र अफगानिस्तानले २४ अंक प्राप्त गरेका छन् । चीनले ४५ अंक प्राप्त गरेको छ । 

सन् २०२२ मा विश्व बैंक, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट र भी–डीइएमसहित ६ वटा संस्थाद्वारा प्रकाशित सर्वेक्षणलाई सीपीआई २०२२ को आधार मानिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सीपीआई २०२२ सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध विश्वभर नै प्रभावकारी कार्य हुन नसकेको, भ्रष्ट सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिकमा वितृष्णा र मुलुक द्वन्द्वमा रुपान्तरण हुने उल्लेख गरेको छ ।


प्रतिक्रिया