टर्कीको भुकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार ३ सय पुग्यो

फाइल फोटो  

माघ २४, २०७९

टर्कीको दक्षिण पूर्वीशहर गाजियांटेपमा गएको शक्तिशाली भुकम्पमा परी मृत्यु भएकाको संख्या ४ हजार ३ सय नाघेको छ । भूकम्पमा परी टर्कीमा २ हजार ९ सयको मृत्यु भएको छ भने सिरियामा १ हजार ४ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्कीमा मात्रै १८ हजार बढी घाइते भएका छन् ।

दुबै मूलुकका सयौं भवन भत्किएपछि भग्नावशेषमा फसेकाको उद्धार जारी छ । स्थानीय समय अनुसार हिजो बिहान ४ बजेर १७ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस गरिएको थियो भने हिजै ७ दशमलव ५ म्याग्निच्युडको परकम्प गएको थियो । भूकम्पको धक्का राजधानी अन्कारा सहित टर्कीका अन्य शहरमा पनि महसुस गरिएको थियो । शक्तिशाली भूकम्पपछि टर्कीमा आपतकाल घोषणा गरिएको छ । भूकम्पको धक्का टर्की सहित सिरिया, लेबनान, साइप्रस र इजरेलमा समेत महसुस गरिएको थियो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले भुकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्ने बताएको छ । दुबै मुलुकमा भुकम्पमा परी मृत्यु हुनेको संख्या ८ गुणाले बढी हुने डब्लुएचओले अनुमान गरेको छ । टर्कीमा असअघि सन् १९९९ मा गएको भुकम्पमा परी १७ हजारको मृत्यु भएको थियो भने सन् १९३९ मा गएको भुकम्पमा परी ३३ हजारको ज्यान गएको थियो ।

यसैबीच टर्कीले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । भुकम्पका कारण जनधनको ठूलो क्षति भएपछि युरोपेली संघमा आबद्ध ८ वटा मूलुकहरुले खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने भएका छन् । युरोपेली आयोगले एक विज्ञप्ति जारी गर्दै बुल्गेरिया, क्रोएसिया, चेक गणतन्त्र, फ्रान्स, ग्रीस, नेदरल्याण्ड्स, पोल्याण्ड र रोमानियाबाट ती टोलीहरु खटिने जनाएको छ । इटाली र हंगेरीले पनि टर्कीमा सहयोग गर्न प्रस्ताव गरेका छन् ।  


प्रतिक्रिया