पाकिस्तानका पूर्व प्रधानमन्त्री खानकी श्रीमतीलाई घुस प्रकरणमा पुनः पक्राउ पूर्जी जारी
मंसिर २१, २०८१ | काठमाडौं
पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री इमरान खानकी श्रीमती बुस्रा बीबीलाई घुस प्रकरणमा पक्राउ पूर्जी जारी गरेको छ ।
इमरान खान सत्तामा रहेको समय सन् २०१८ देखि २०२२को अवधिमामा पाएको उपहार अवैध रुपमा बेचेको आरोपमा बुस्रा बीबीलाई यसअघि ९ महिना कारागारमा राखिएको थियो ।
जेलबाट धरौटीमा निस्किएको २ महिना पछि बीबीलाई अदालतले पुन ः पक्राउ पूर्जी जारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
पूर्व प्रधानमन्त्री खान र श्रीमती बीबीले १४ करोड रुपैयां बराबरको सरकारी उपहार बेचेको आरोपमा मुद्धा खेप्दै आउनुभएको थियो ।
पूर्व प्रधानमन्त्री खान अहिले पनि कारागारमै हुनुहुन्छ ।
उहाँको रिहाईका लागि दवाव स्वरुप श्रीमती बीबीले हजारौं समर्थकलाई प्रदर्शनमा उतारेको आरोप लाग्दै आएको छ ।
अदालतबाट पक्राउपूर्जी जारी भएसंगै पाकिस्तानको भ्रष्टाचार विरोधी निकाय, राष्ट्रिय जवाफदेहिता व्यूरोले बीबीलाई पक्राउ गर्ने तयारी गरेको छ ।
पूर्वप्रधानमन्त्री खान र श्रीमती बीबीले भने सरकारी उपहार बेचेको आरोपको खण्डन गर्दै आउनुभएको छ ।