दवाव बढेपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोद्वारा पदबाट राजीनामाको घोषणा

पुस २३, २०८१ | काठमाडौं

आफ्नै पार्टीबाट समेत दबाब सिर्जना भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिनु भएको छ । क्यानडामा कार्यकारी प्रमुख पद सम्हालेको ९ वर्षपछि प्रधानमन्त्री ट्रयुडोले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।

यद्यपि उहाँको दल लिबरल पार्टीबाट नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री ट्रुडोले नै सरकार सञ्चालन गर्नुहुने बीबीसीले जनाएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि २४ मार्चसम्म समय रहेको छ ।

क्यानडामा यही वर्ष हुने निर्वाचनले मुलुकको कार्यकारी प्रमुखका लागि योग्य उम्मेदवार चयन गर्ने प्रधानमन्त्री ट्रयुडोको भनाई छ ।

क्यानडामा सन् २०२५ को अक्टोबर महिनामा चुनाव हुँदैछ । 

हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘म यतीखेर आन्तरिक संघर्षमा छु ।

 आगामी निर्वाचनका लागि सवैभन्दा राम्रो विकल्प हुन सक्दिन ।’ क्यानडामा आफ्नो लोकप्रियतामा कमी आएपछि प्रधानमन्त्री ट्रयुडोले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो ।

उहाँको लोकप्रियता खस्किँदो क्रममा रहेको र क्यानडामा यही वर्षको अन्त्यमा हुने संघीय निर्वाचनमा पार्टीलाई समेत धक्का पुग्ने भएपछि राजीनामाको दबाब बढेको थियो । 

सत्तारुढ लिवरल पार्टीका अध्यक्ष सचित मेहराले दलको बैठकबाट यही साताभित्र नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ ।


प्रतिक्रिया