अस्ट्रेलियाले नेपाललाई ३४ मिलियन डलर सहयोग दिने

चैत्र १७, २०८१ | अस्ट्रेलिया
अस्ट्रेलिया सरकारले नेपाललाई यस आर्थिक वर्ष करिब ३४ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । केहीदिन अघि ट्रेजरर जिम चार्ल्मरले सार्वजनिक गरेको बजेटमा नेपाललाई द्धिपक्षीय विनियोजन अन्तर्गत ९ दशमलव १ मिलियन र विकास कार्यक्रम अन्तर्गत २५ दशमलव ४ मिलियन डलर सहयोग प्रदान गरिने भएको हो ।
गत वर्ष यस शीर्षकमा २६ दशमलव १ मिलियन डलर दिइएकोमा यो रकमलाई यस वर्ष केही कम गरिएको छ । अस्ट्रेलियाले गत आर्थिक वर्ष नेपाललाई कुल ३६ दशमलव ६ मिलियन डलर सहयोग गरेको थियो ।
अस्ट्रेलियाले नेपाललाई दिने सहयोग रकम स्वास्थ्य सुरक्षा, स्थायित्व र आर्थिक प्रगती र विकासलाई प्राथमिकतामा राखेर सहयोग दिने गरेको छ । अस्ट्रेलियाले दिने सहयोग स्वास्थ्यकर्मीको ब्यक्तिगत सुरक्षाका सामग्री, कोभिड खोप, महिला स्वास्थ्य शुद्ध खानेपानी तथा स्वास्थ्य तथा सरसफाईमा केन्द्रित रहनेछ ।
यसैगरी दिगो नीति नियमको निर्माण गर्न, प्रभावकारी सेवा प्रवाह र सुशासनका लागि केन्द्रित रहनेछ । अस्ट्रेलियाले अन्य विभिन्न संस्था मार्फत नेपालको दीर्घकालिन आर्थिक विकासका क्षेत्रमा समेत कार्य गरिरहेको उल्लेख छ ।
अस्ट्रेलियाले प्रदान गर्ने अधिकांश सहयोग विभिन्न गैरसरकारी संस्था मार्फत खर्च गरिने गरिएको छ । यस आर्थिक वर्षमा सबैभन्दा बढी बंगलादेशलाई १ सय ४१ मिलियन, अफगानिस्तानलाई १ सय मिलियन र सबैभन्दा कम भुटानलाई ८ दशमलव ३ मिलियन डलर सहयोग गरिने बजेटमा उल्लेख छ ।