भारतसँगको तनावकाबीच पाकिस्तानद्वारा मिसाइल परीक्षण

वैशाख २०, २०८२ | काठमाडौं
भारतसँगको तनावकाबीच पाकिस्तानले मिसाइल हतियार प्रणालीको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाले आज मिसाइल हतियार प्रणालीको प्रक्षेपण गरेको जनाएको हो ।
गत अप्रिल २४ मा भारत प्रशासित काश्मिरमा भएको आतंकवादी हमलामा २६ जना मारिएपछि तनावमय भएको बेला पाकिस्तानको सो कदमले स्थिति थप तनावग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानी सेनाले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण प्रक्षेपण गरेको जनाएको हो ।
सो प्रक्षेपणको उद्देश्य सैनिकहरुलाई तत्काल परिचालन गर्न सुनिश्चित गर्नु र मिसाइल प्रणालीलगायत प्राविधिक मापदण्डहरुको प्रमाणीकरण गर्नु रहेको सेनाले जनाएको छ । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाममा भएको आक्रमणमा प्रतिक्रिया दिन सेनालाई पूर्ण स्वतन्त्रता दिएको उल्लेख गरेपछि पाकिस्तानको सो प्रतिक्रिया आएको विश्लेषण गरिएको छ ।