बढ्दो द्वन्द्व र अस्थिरताले विश्वभर गरिबीको समस्या भयावह बन्दै

असार १४, २०८२ | काठमाडौं
विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताले गरिबीको समस्या भयावह बन्दै गएको विश्व बैंकको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।
विश्व बैंकले प्रतिवेदन सार्वजनिक गर्दै द्वन्द्व र अस्थिरताले विश्वमा गरिबीको समस्या जटिल बन्दै गएको बताएको हो । सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंकको प्रतिवेदन अनुसार यस वर्ष मात्र ४२ करोडभन्दा बढी मानिसहरु दैनिक तीन अमेरिकी डलरभन्दा कम आम्दानीले जीवनयापन गरिरहेका छन् । सो दर बढिरहेमा सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख बढि हुने अनुमान गरिएको विश्वबैंकले जनाएको हो । हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा राखिएको छ ।
जस मध्ये २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा छन् । सो सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र इराकलगायतका देशहरु समावेश छन् । यद्यपि, सो सूचीमा इरानलाई भने समावेश गरिएको छैन ।