रुसको सुदूर पूर्वी क्षेत्रमा झन्डै ५० जना यात्रु सवार विमान दुर्घटना

श्रावण ८, २०८२ | काठमाडौं

रुसमा झन्डै ५० जना यात्रु सवार एक विमान दुर्घटनामा परेको छ । रुसी एन्टोनोभ एन–ट्वान्टी फोर नामक सो विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको रुसी आपतकालीन सेवा अधिकारीले बताएका छन् ।

 विमान रुसको सुदूर पूर्वी क्षेत्रमा दुर्घटनामा परेको हो । रुसी शहरबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रमा जान लागेको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ । तत्कालीन सोभियतकालिन समयमा सन् १९७६ मा बनेको सो विमान करिब ५० वर्ष पुरानो रहेको समाचारमा जनाइएको छ । 

हेलिकप्टरबाट खिचिएको भिडियो दृश्यमा घना जंगलको बीचमा विमान खसेको र आगोको मुस्लो देखिएको रोयटर्सले जनाएको छ । उद्दारका लागि अधिकारीहरुलाई सो क्षेत्रमा परिचालन गरिएको छ । सो जहाज साइबेरियामा आधारित अन्गारा नामक क्षेत्रीय एअरलाइन्सको नीजि विमान हो । प्रारम्भिक जानकारी अनुसार विमानमा ४ बालबालिकासहित ४३ जना यात्रु र चालक दलका ६ जना सदस्य सवार थिए ।  


प्रतिक्रिया