अमेरिकाको टेक्सासमा बाढीको कलह, मृतकको संख्या ६७ पुग्यो
असार २३, २०८२ | अमेरिका
अमेरिकाको टेक्सास राज्यको दक्षिण–मध्ये क्षेत्रमा बाढीका कारण मृत्यु भएकाको संख्या ६७ पुगेको छ । भीषण वर्षाका कारण जलाधार क्षेत्रको सतह अत्याधिक बढ्दा २ दिनदेखि आएको बाढीका कारण मृत्यु हुनेको संख्या स्थानीय समय अनुसार सोमबार बिहानसम्म ६७ जना पुगेको हो ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी केरि काउन्टीका ५९, ट्राभिसका ४, बर्नेटका ३ र केन्डाल काउन्टीका १ जना रहेका छन् । बाढीकै कारण माइस्टिक समर क्याम्पबाट ७ सय ५० मध्ये २७ जना किशोरीहरु बेपत्ता भएका छन् ।
हन्ट टेक्सासमा रहेको नदीमा पानीको बहाव र सतह अत्याधिक बढ्दा किनारमा रहेको ख्रिष्टियन क्याम्पमा रहेको २७ जना किशोरी बेत्तपा भएका हुन् । प्रहरीले उनीहरुको खोजी जारी राखेको छ ।
समर क्याम्पबाट उद्धार गरिएकी १३ वर्षीया एलिनोर लेस्टरले घटनाको विवरण सुनाउँदै भनिन्, ‘क्याम्प पुरै नष्ट भएको थियो । हेलिकप्टरले हामीलाई लिन आयो । हामी डोरी समातेर पुल पार गर्दै पानीबाट निस्किएका थियौं ।’
टेक्सासका गभर्नर ग्रेग एबटले उद्धार संयन्त्रले अहिलेसम्म ८ सय ५० जनालाई बाढीग्रस्त क्षेत्रबाटै सकुशल उद्धार गरिएको बताएका छन् । ‘हेलिकोप्टर, बोटिङ् र प्रहरीलगायत उद्धार टोलीले हाल पनि उद्धारलाई जारी राखेका छन्’, उनले भने, ‘उद्धारका लागि हामी कुनै पनि हदसम्म पुग्न तयार छौं ।’ उपगभर्नर ड्यान प्याट्रिकले बाढीको अवस्था खतरा नटरेको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
उनले बाढीबाट जागिन र मृत्युबाट बचाउन उद्धारलाई थप सशक्त बनाउने प्रयास जारी रहेको अमेरिकी संचारमाध्यमहरु मार्फत जानकारी दिएका छन् । ‘बाढीग्रस्त क्षेत्रमा पर्ने २० हजार जनसंख्या भएको एउटा सिंगो गाउँलाई हामीले उद्धारका लागि तयार हुनसमेत भनेका छौं,’ उपगभर्नर प्याट्रिकले भने ।
बाढीग्रस्त क्षेत्रमा हालसम्म पानी, विद्युत् र सञ्चार सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । हाल बाढीबाट प्रभावित क्षेत्रमा करिब ५ सय सुरक्षाकर्मी र १४ वटा हेलिकप्टरले उद्धार कार्यमा सहयोग गरिरहेको गभर्नर एबटले जानकारी दिएको अमेरिकी संचारमाध्यम एपीले उल्लेख गरेको छ ।
टेक्सासका सैन्य अधिकारी मेजर जनरल थोमस सुएल्जरले आपतकालीन कर्मचारीले कम्तीमा एक हजार बढी स्थानीयलाई उद्धार गरेको र करिब ५ सय जनालाई हेलिकप्टरबाट सुरक्षित स्थानमा सारिएको बताए । तस्बिर सीएनएन







