रुसमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

श्रावण १४, २०८२ | काठमाडौं
रुसको सुदूरपूर्वी तटमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार आज बिहान ८ बजेर २५ मिनेटमा ८ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पको केन्द्रबिन्दु रुसको सुदूर पूर्वी काम्चात्का प्रायद्वीपको समुद्री तट बाहिर रहेको छ, जुन क्षेत्र कम जनसंख्यायुक्त र दुर्गम मानिन्छ । भूकम्पपछि ४ मिटरसम्मको सुनामी आउँदा भवनहरुमा क्षति पुर्याएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रका साथै हवाईमा सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानका अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर टाढा र १८ दशमलव २ किलोमिटर गहिराइमा गएको जनाएको छ ।
रुसको काम्चात्का प्रायद्वीपमा सुनामीको जोखिम रहेको भन्दै त्यहाँका गभर्नर भ्लादिमिर सोलोदोभले स्थानीय बासिन्दालाई तटीय क्षेत्रबाट टाढा रहन आग्रह गर्नु भएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले पनि जापानका तटीय क्षेत्रमा १ मिटर अग्लोसम्म छाल आउन सक्ने भन्दै सतर्कताको सूचना जारी गरिएको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ ।
प्रशान्त सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्पीय मापदण्डका आधारमा व्यापक र खतरनाक सुनामी आउने सम्भावना रहेको जनाएको छ । हवाई टाप र अलास्का राज्यको एल्युसियन टापु समूहका केही भागका लागि पनि सुनामीको पूर्वसूचना जारी गरिएको छ ।