अमेरिकी विशेष दूतद्वारा युद्धग्रस्त गाजा क्षेत्रको भ्रमण

श्रावण १६, २०८२ | काठमाडौं
इजरायल र प्यालेटाइनी बिद्रोही समुह हमासबीच जारी आक्रमणकाबीच अमेरिकी विशेष दूतले युद्धग्रस्त गाजा क्षेत्रको भ्रमण गरेका छन् ।
इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले खाद्यान्नको समेत चरम संकट खेपिरहेको गाजा क्षेत्रमा भइरहेको राहत वितरण क्षेत्रको अनुगमन गर्नुभएको हो । राहत सामग्री प्रदान भएको क्षेत्रका बारेमा जानकारी लिनका लागि सो क्षेत्रको भ्रमण गरेको राजदूत हुकाबीले सामाजिक सञ्जाल मार्फत जनाउनुभएको छ ।
अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच जारी युद्ध अन्त्यका लागि पहल गरिएको भएपनि सकारात्मक नभएपछि अमेरिकाको तर्फबाट सो क्षेत्रको भ्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच ह्युमन राइट्स वाचले युद्धग्रस्त गाजा क्षेत्रमा अमेरिका समर्थित सहायता केन्द्र बाहिर खानाको खोजीमा रहेका प्यालेस्टाइनी नागरिकमाथि इजरायलले नियमित आक्रमण गरिरहेको आरोप लगाएको छ ।
इजरायलले गाजा क्षेत्रमा व्याप्त भोकमरीलाई युद्धको हतियार बनाएको ह्युमन राइट्स वाचले जनाएको छ । अमेरिकाले युद्धग्रस्त क्षेत्रमा गाजा मानवीय फाउन्डेसन मार्फत नीजि रुपमा भइरहेको राहत तथा खाद्यान्न वितरणमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।