गाजाका नयाँ क्षेत्रमा समेत भोकमरी फैलिन सक्ने राष्ट्रसंघको चेतावनी

भाद्र २३, २०८२
काठमाडौँ । संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले इजरायलले लगातार आक्रमण गरिरहँदा गाजा शहरका नयाँ क्षेत्रमा समेत भोकमरी फैलिन सक्ने चेतावनी दिनुभएको छ ।
गाजामा खाद्यान्न सहायता पठाउन सीमित मार्ग मात्र उपलब्ध भएकाले सो क्षेत्रमा सहायता वितरण कार्य सहज बनाउन इजरायललाई आग्रह गर्दै सहायता प्रमुख फ्लेचरले यस्तो बताउनुभएको हो । ग्लोबल हंगर मोनिटरकाअनुसार गाजा शहरका अधिकांश क्षेत्रका हजार प्यालेस्टीनी पहिलेदेखि नै भोकमरीको शिकार भइरहेका छन् ।
यसअघि, इजरायलले मार्चदेखि मेको मध्यसम्म ११ हप्ताका लागि गाजामा सबै सहायता रोकेको थियो । यद्यपी, अहिले पनि इजरायलले गाजामा सहायता ट्रक पठाउन अवरोध गरिरहेकोले भविष्यमा अझ खतरा बढ्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।