हसिनाविरुद्ध परेको मुद्दामाथि आज फैसला गरिँदै
मंसिर १, २०८२ | काठमाडौं
बंगलादेशमा पदच्युत प्रधानमन्त्री शेख हसिनाविरुद्ध परेको मानवता विरुद्धको अपराधको मुद्दाको फैसला आज विशेष न्यायाधिकरणले गर्दैछ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण बंगलादेशका अभियोजनकर्ताहरुले ७८ वर्षीया हसिनालाई मृत्युदण्डको सजाय सुनाउन माग गरेका छन् ।
फैसलापूर्व छिटपुट आगजनी र कच्चा बम आक्रमणका बीच ढाका र अन्य क्षेत्रहरूमा रातभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गए राति अज्ञात व्यक्तिको समूहले प्रहरी चौकी परिसरको गाडी राखिएको स्थानमा आगो लगाएका थिए ।
साथै, उनीहरुले अन्तरिम सरकार प्रमुखको सल्लाहकार परिषद सदस्यको निवास बाहिर दुईवटा कच्चा बम विस्फोट गराएको समाचार संस्था पीटीआईले जनाएको छ ।
हसिनाको विघटन भएको पार्टी अवामी लिगले विशेष न्यायाधिकरणको फैसलाभन्दा दुई दिनअघि बन्दको घोषणा गरेका छन् ।
त्यसपछि त्यहाँको अन्तरिम सरकारले सैन्य, अर्धसैनिक र प्रहरीलाई सतर्कताको आदेश दिएको छ ।
ढाका महानगरीय प्रहरीले तनाव बढ्दै गए हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली हान्न समेत आदेश दिएको छ ।









