थाइल्याण्ड र कम्बोडियाबीच भइरहेको झडप आजदेखि रोकिने ट्रम्पको दाबी

रेडियो कान्तिपुर संवाददाता

मंसिर २७, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाअनुसार थाइल्याण्ड र कम्बोडियाका प्रधानमन्त्रीहरूले आज साँझदेखि लडाइँ रोक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले दुवै मुलुकका शीर्षस्थ नेतासँग टेलिफोनमा सम्वाद गरेपछि यस्तो जानकारी दिनुभएको हो । 

उहाँले ट्रुथ सोसलमा पोस्ट गर्दै दुवै नेताले आज साँझदेखि गोली हान्न रोक्ने र शान्ति सम्झौतामा फर्कने सहमति गरेको बताउनुभयो । पछिल्ला केही दिनदेखि पूर्वी एशियाली मुलुक थाईल्याण्ड र कम्बोडियाबिच सिमामा झडप भइरहेको छ । सो झडपमा कम्तीमा २० जनाको मृत्यु र ५ लाख मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । 

सो विषयमा थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चारनवीरकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले कुनै टिप्पणी गर्नुभएको छैन । यद्यपि, राष्ट्रपति ट्रम्पसँगको फोनवार्तापछि थाई प्रधानमन्त्री चारनवीरकुलले कम्बोडियाले आफ्ना सेना फिर्ता लिने र उसले लगाएको सबै ल्यान्डमाइन हटाए मात्र युद्धविराम हुने पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभएको छ । 


प्रतिक्रिया