पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय

मंसिर २५, २०८२ | काठमाडौं

पाकिस्तानको सैन्य अदालतले एक पूर्व गुप्तचर प्रमुखलाई १४ वर्ष जेल सजाय हुने फैसला सुनाएको छ । 

राज्यको गोपनियता उल्लङ्घन गरेको तथा राजनीतिमा हस्तक्षेप गरेको आरोपमा पूर्व गुप्तचर प्रमुख फैज हमीदलाई सो सजाय सुनाइएको हो । हमीदले सन् २०१९ देखि २०२१ सम्म तत्कालीन प्रधानमन्त्री इमरान खानको कार्यालयमा रहेको पाकिस्तानी गुप्तचर निकायको नेतृत्व गरेका थिए । 

पाकिस्तानमा गुप्तचर निकायका प्रमुखलाई सैन्य अदालतले कारबाही गरेको यो नै पहिलो घटना भएको बीबीसीले जनाएको छ । पूर्व प्रधानमन्त्री खानका कट्टर समर्थकको छवि बनाएका हमिद प्रधानमन्त्री खानको बर्खास्तीसँगै आवकासमा गएको समाचारमा जनाइएको छ । पाकिस्तानी सेनाले जारी गरेको विज्ञप्तीमा पूर्व गुप्तचर प्रमुखलाई सो फैसला सुनाइएको उल्लेख छ ।

 सेनाका अनुसार हमीदमाथि राजनीतिक गतिविधिमा संलग्न रहेको तथा राज्यको हितलाई हानि पुर्याउने गरि गोपनीयता ऐनको उल्लङ्घन गरेको र सरकारी स्रोत साधनको दुरुपयोग गरेको लगायत मुद्दा चलाइएको थियो । सैन्य अदालतबाट भएको फैसलाप्रति असहमति भएमा हमीदलाई सर्वोच्च अदालतमा अपील गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।  


प्रतिक्रिया