इन्डोनेसियाको जाभा टापुमा पहिरोमा परि कम्तीमा ८ जनाको मृत्यु /८२ जना बेपत्ता
माघ १०, २०८२ | काठमाडौं
इन्डोनेसियाको जाभा टापुमा अविरल वर्षापछि आएको पहिरोमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । ८२ जना बेपत्ता भएका छन् । घटनापछि उद्धारकर्मीहरु हिलो र भग्नावशेषमा फसेकाहरुको उद्दारमा खटिएका छन् ।
केही दिनदेखि लगातार परेको भीषण वर्षाका कारण नदीमा पानीको सतह उल्लेख्य बढेको समाचारमा जनाइएको छ । पश्चिम जाभा प्रान्तको पश्चिम बान्दुङ जिल्लामा बाढी र पहिरोको घटना भएको हो ।
पहिरोका कारण पहाडी बस्तीबाट माटो, ढुंगा र रुखहरू खस्दा ३४ वटा घर पुरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रवक्ताका अुसार पहिरोले पुरिएको हुन सक्ने आशंकामा ८२ जनाको खोजी कार्य जारी राखिएको छ ।
पहिरोले सबैभन्दा बढी प्रभावित पासिर कुनिङ बस्तीमा आठ जनाको शव फेला परेको छ । स्थानीय टेलिभिजन च्यानलहरुले पहिरो प्रभावित क्षेत्रमा उद्धारकर्मी र स्थानीयले खोजी गरिरहेको दृश्य प्रसारण गरेका छन्।











