विद्यार्थी नेतृत्वको आन्दोलनपछि बंगलादेशमा पहिलो पटक निर्वाचन सम्पन्न

माघ २९, २०८२ | काठमाडौं

बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलो पटक निर्वाचन सम्पन्न भएको छ । मतदान सकिएलगत्तै मतगणना भइरहेको छ । सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेपछि पहिलो पटक संसदीय निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा २ हजारभन्दा बढी उम्मेदवार संसदीय सिटका लागि प्रतिस्पर्धामा उत्रिएको बीबीसीले जनाएको छ । 

यद्यपी, प्रतिबन्धीत हसिनाको अवामी लिग पार्टीबाट कुनै पनि उम्मेदवार सहभागी छैनन् । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२४ को आन्दोलनका क्रममा करिब १ हजार ४ सय प्रदर्शनकारी मारिएका थिए । विद्यार्थीको प्रदर्शनमा दमनको आरोप लगाइएको भए पनि हसिनाले सो आरोप अस्वीकार गर्दै आउनुभएको छ । निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र इस्लामवादी जमात–ए–इस्लामी नेतृत्वको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा देखिएको समाचारमा उल्लेख छ । 

सो गठबन्धनमा विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ पार्टी समेत सहभागी छ । अन्तिम मतपरिणाम भोली सार्वजनिक हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यसैबीच, अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक संशोधनसम्बन्धी जनमत संग्रहमा समेत मतदाताले मतदान गरेका छन् । 

अन्तरिम सरकारले देशको राजनीतिक प्रणाली पूर्ण रूपमा बिग्रिएको दाबी गर्दै सुधारका लागि संविधान संशोधन प्रस्ताव अघि सारेको छ । यसैबीच मतदानपछि अन्तरिम सरकारका प्रमुख नेता मोहम्मद युनुसले देशमा त्रासको अन्त्य हुँदै नयाँ यात्रा सुरु भएको प्रतिक्रिया दिनुभएको छ ।


प्रतिक्रिया