इरानी सर्वोच्च नेतासहित उच्च अधिकारी मारिए

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १७, २०८२ | काठमाडौं

आणविक हतियारको विषयमा जारी तनावका बीच अमेरिकाले इरानमा गरेको आक्रणममा त्यहाँका सर्वोच्च नेतासहित केही प्रमुख व्यक्तिको मृत्यु भएको छ । सर्वोच्च नेता अली खामेनी, सशस्त्र बलका प्रमुख तथा रिभोलुसनरी गाड्र्सका कमाण्डर लगायतको मृत्यु भएको हो । 

इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्यूजका अनुसार, राजधानी तेहरानमा पछिल्लो पटक ६० वटा आक्रमण हुँदा कम्तीमा ५७ जनाको मृत्यु भएको छ । इजरायली सेनाले तेहरानलाई लक्षित गरी आक्रमण गरेपछि तेहरानको आकाशमा धुँवाको मुस्लो देखिएको बीबीसीले जनाएको छ । 

यसैबीच इरानका राष्ट्रपतिले सर्वोच्च नेता खामेनीको हत्या गरेर मुस्लिम समुदायमाथि युद्ध गराउन खोजिएको आरोप लगाएका छन् । आक्रमणको बदला लिनु इरानको वैधानिक अधिकार र कर्तव्य भएको उनको भनाइ छ । अमेरिकाको सैनिकको बेस क्याम्प रहेका मध्यपूर्वका केही देशमा इरानले पनि जवाफी आक्रमण गरेको छ । 

दुबईको एक विमानस्थल सहित अन्य विभिन्न देशहरुमा आक्रमण गरिएको विवरण सार्वजनिक भएका छन् । यसैबीच इजरायलले तेहरानमा इरानी शासनसँग सम्बन्धित क्षेत्रमा आक्रमण गरिएको दाबी गरेको छ । इरानमा अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको आक्रमणको घटनाले क्षेत्रीय तनाब थप बढाएको छ ।  


प्रतिक्रिया