अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्धामा सफाइ
फाल्गुन १५, २०८२ | काठमाडौं
भारतको अदालतले दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्धामा सफाइ दिएको छ । आम आदमी पार्टीका नेता केजरीवाललाई सन् २०२४ को मार्चमा मदिरा सम्बन्धी नीति बनाउँदा घोटाला गरेको आरोप लगाइएको थियो ।
अदालतले झन्डै दुई बर्षपछि केजरीवालसहित २३ जनालाई सफाइ दिँदै मदिरासम्बन्धी नीतिमा षड्यन्त्र वा आपराधिक मनसाय नरहेको ठहर गरेको हो । अनुसन्धान निकायले भने केजरीवालले निजीमार्फत विक्रेतालाई अनुचित लाभ दिएको आरोपसहित मुद्दा दर्ता गरेको थियो ।
केजरीवालको पक्षमा फैसला सुनाएको अदालतले अनुसन्धान प्रक्रिया कमजोर रहेको भन्दै अनुसन्धान अधिकृतमाथि छानबिन गर्न सिफारिस गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अनुमानका आधारमा केजरीवालमाथि मुद्दा चलाएको निष्कर्ष अदालतले निकालेको समाचारमा उल्लेख छ । पूर्व मुख्यमन्त्री केजरीवालले प्रहरी र सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले आफूविरुद्ध षड्यन्त्र रचेको तथा विपक्षी नेताहरुलाई निशाना बनाएको आरोप लगाउँदै आउनुभएको छ ।









