भारत र क्यानडाबीच परमाणु उर्जा सम्बन्धी ऐतिहासिक सम्झौता
फाल्गुन १८, २०८२ | काठमाडौं
भारत र क्यानडाबीच ऐतिहासिक परमाणु उर्जा सम्झौत भएको छ । प्रधानमन्त्रीद्वय नरेन्द्र मोदी र मार्क कार्नीबीच नयाँ दिल्लमा भएको भेटपछि १० वर्षे परमाणु ऊर्जा सम्झौतासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । पछिल्लो समय कूटनीतिक तनावका कारण चिसिएको सम्बन्ध सो सम्झौतालाई ‘ऐतिहासिक’ मानिएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको वार्तापछि दुवै देशले परमाणु ऊर्जा, प्रविधि, महत्वपूर्ण खनिज, रक्षा र शिक्षा क्षेत्रमा सहकार्य बढाउने सहमति गरेको समाचारमा उल्लेख छ । क्यानडाका प्रधानमन्त्री कार्नीले भारतजस्तो ऊर्जा–आवश्यकता उच्च भएको देशलाई परमाणु इन्धन आपूर्ति गर्न क्यानडा सक्षम रहेको बताउनुभयो। साथै दुवै देशले रणनीतिक ऊर्जा साझेदारी सुरु गर्ने घोषणा समेत गरेका छन् ।
दुवै देशले सन् २०२६ भित्रै खुला व्यापार सम्झौता टुंग्याउने लक्ष्य लिएका छन्। द्विपक्षीय व्यापारलाई ५० अर्ब डलरसम्म पु¥याउने लक्ष्यसमेत तय गरिएको छ। भारत–क्यानडा सम्बन्ध सन् २०२३ मा क्यानडामा भएको सिख पृथकतावादी नेता हरदिप सिंह निज्जरको हत्या प्रकरणपछि तनावग्रस्त बनेको थियो। कार्नी सत्तामा आएपछि सम्बन्ध सुधारका प्रयास तीव्र भएको बताइएको छ ।









