इरानको आक्रमणको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्धारा निन्दा
फाल्गुन २८, २०८२ | काठमाडौं
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले खाडी राष्ट्र र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै एउटा प्रस्ताव पारित गरेको छ ।
प्रस्तावमा इरानले गरेको आक्रमण अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि खतराको भएको औँल्याएको छ ।
प्रस्ताव १३ मतले पारित भएको थियो । जसमा रुस र चीन मतदान प्रक्रियामा अनुपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
खाडी सहयोग परिषद र जोर्डनको तर्फबाट बोल्दै बहराइनका प्रतिनिधिले सो प्रस्तावले नागरिक र नागरिक पूर्वाधार विरुद्ध इरानी आक्रमणलाई स्पष्ट रुपमा अस्वीकार गरेको अन्तर्राष्ट्रिय अडानलाई प्रतिबिम्बित गर्ने बताएका छन् ।
फ्रान्सका प्रतिनिधिले अन्तर्राष्ट्रिय कानून र कूटनीति दीर्घकालीन क्षेत्रीय स्थिरताको लागि एक मात्र मार्ग रहेको जोड दिएका छन् ।
उनले इरानको निरन्तर आक्रमणले विश्व व्यापार र ऊर्जा सुरक्षामा प्रत्यक्ष खतरा उत्पन्न गरेको बताएका छन् ।
यस्तै, बेलायतका प्रतिनिधिले सो प्रस्तावले खाडी मुलुक र जोर्डनमाथि इरानको लापरवाह आक्रमणको निन्दा गर्दै क्षेत्रीय शान्ति र राष्ट्रिय सार्वभौमिकताको लागि परिषदको समर्थन गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।










