अमेरिका र इरानबीच २ हप्तासम्म युद्धविराम गर्ने सहमति

रेडियो कान्तिपुर संवाददाता

चैत्र २५, २०८२ | काठमाडौं

अमेरिका र इरानबीच २ हप्तासम्म युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ठूला आक्रमण गर्ने चेतावनी दिएको अन्तिम समयमा फिर्ता लिँदै जारी तनाव कम गर्ने बताउनुभएको समाचार संस्था एपीले जनाएको छ । ट्रम्पले शर्तहरु इरानले स्वीकारेमा युद्धलाई थप विस्तार नगर्ने बताउनुभएको समाचारमा उल्लेख छ । 

ट्रम्पका अनुसार इरानले २ हप्ताको युद्धविराममा सहमति जनाएको छ । हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा समेत सकारात्मक संकेत दिएको बताइएको छ । सो जलमार्गबाट विश्वको ठूलो हिस्सा तेल आपूर्ति हुने भएकाले महत्वपूर्ण मानिएको छ ।

 यस्तै,इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविराम स्वीकार गरेको पुष्टि गरेको छ । साथै, अमेरिका र इरानबीच वार्ता इस्लामावादमा शुक्रबारदेखि सुरु हुने बताइएको छ। सो सहमति जारी युद्ध छैटौं हप्तामा प्रवेश गरिसकेको अवस्थामा आएको हो । 

यसअघि ट्रम्पले पुल, विद्युत् केन्द्र जस्ता संरचनामा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो । हालको युद्धविरामलाई दुवै पक्षबीच सम्भावित शान्ति सम्झौताका लागि महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।


प्रतिक्रिया