प्रहरीका ठेकेदार भारतीको भ्रष्टाचार मुद्दामा सर्वोच्चले पुन: सुनुवाई गर्ने

मंसिर २६, २०७६ | काठमाडौं

सुडान घोटाला काण्डमा कैद भुक्तान गरिरहेका नेपाल प्रहरीका ठेकेदार शम्भु भारतीको मुद्दा पुन: सर्वोच्चले सुनुवाई गर्ने भएको छ । यसअघि भएको फैसला पुनरावलोकन हुनुपर्ने दाबी गर्दै भारतीले सर्वोच्चमा निवेदन दिएका थिए । न्यायाधीश तेजबहादुर केसी, प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलाशले भारतीयको पक्षमा फैसला गरेको हो ।

अब उनीविरुद्ध भएको पुरानो फैसला सर्वोच्चले पुन: जाँच गर्ने छ । सुडानको डार्फरमा खटिने नेपाल प्रहरीका लागि आवश्यक बन्दोबस्तीको सामान खरिदमा चरम भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भई फरार रहेका भारतीलाइ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत भाद्र १३ गते ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो ।

उनीविरुद्द सर्वोच्च अदालतले १ वर्षको कैद र १४ करोड २० लाख ८ हजार ३ रूपैयाँ ३ पैसा जरिवाना हुने फैसला गरेको थियो । अदालतको आदेशले भारती हाल डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् । विशेष अदालतले सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गदै प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो । 

विशेष अदालतले प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना सहित जनही दुई वर्षको कैद सजाय सुनाएको थियो ।

यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि भारतीलाई पनि दोषी ठहर गरेको हो । विशेषले राइडरलाई २ वर्षको कैद र ५६ करोड ८० लाख जरिवाना हुने ठहर गरेको थियो । उनी हालसम्म पक्राउ परेका छैनन् । 

विशेषको फैसलाविरुद्द पुनरावेदन माग गदै २०६९ जेठ २२ गते तीन पूर्वमहानिरीक्षक सहित भारती सर्वोच्च पुगेका थिए । तर, तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्रेष्ठको संयुक्त इजलासले २०७४ बैशाख १४ गते उनीहरुविरुद्द विषेशले गरेको फैसला सदर गर्‍यो ।

सोही मुद्दामा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक राणा, गुरुङ र ठकुरी काठमाडौको डिल्लीबजारस्थित कारागारमा कैद भुक्तान गरिरहेका छन् । 


प्रतिक्रिया