सभामुख चयनको विषय थप पेचिलो बन्दै

माघ २, २०७६ | काठमाण्डौं

– सभामुख चयनको विषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पुन: छलफल भएपनि कुनै सहमति हुन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सभामुख चयन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । तर, छलफलबाट पनि कुनै ठोस सहमति ननिस्किएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त रहेको करिब चार महिना हुन लाग्दा पनि चयन हुन सकेको छैन । गत आइतबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा दिन निर्देशन दिए पनि उहाँले सभामुखको अडान त्याग्नु भएको छैन । पार्टीले राजीनामा माग गरेपछि उप सभामुख तुम्बाहाङफेले माघ ६ गतेसम्मका लागि समय माग गर्नु भएको थियो । सभामुखको टुंगो लगाउन नसकिरहेको सत्तारुढ दल नेकपाभित्र पछिल्लो समय अध्यक्षद्वयबीच चिसोपन बढ्दै गएको छ । 

दुबै अध्यक्षले आ–आफ्नो तर्फबाट सभामुखको नाम सिफारिस गरेपछि विषय पेचिलो बन्दै गएको हो । सभामुख चयनको विषयले किनारा नपाउँदा पछिल्लो समय प्रतिनिधिसभाको बैठक समेत प्रभावित बन्दै आएको छ । पुष ११, १६ र २७ गते डाकिएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो ।


प्रतिक्रिया