दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश

माघ २, २०७६ | काठमाडौं

काठमाडौं अदालतले झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । 

अदालतले आज जारी गरेको सूचनामा प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । 

प्रसाईँले गत साता काठमाडौंमा पत्रकार सम्मेलन गरी बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड रुपैयाँ घूस मागेको दाबी गर्नुभएको थियो । त्यसपछि गिरीले प्रसाईंविरुद्द काठमाडौ अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको थियो ।

यसैबीच, अभद्र ब्यवहार कसुरमा प्रसार्इंलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रहरीलाई अनुमति दिएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले प्रसार्इँविरुद्ध सीडीओ कार्यालयबाट पक्राउ पुर्जी जारी भएको बताउनुभयो । 

पक्राउ अनुमतिपछि प्रहर्री भक्तपुरस्थित प्रसाई निवासमा पुगेको थियो । तर, प्रहरीले प्रसाईंलाई फेला पार्न सकेन । 

प्रसाईंविरुद्ध भक्तपुर प्रहरीमा गिरीले अभद्र ब्यवहार कसुरमा उजुरी दिनुभएको छ । नयाँ मुलुकी संहिता अनुसार अभद्र ब्यवहार कसुर मुद्दा प्रशासनबाट छिनोफानो हुने ब्यवस्था छ ।

मुलुकी संहिताले मानहानीलाई फौजदारी कसुर अन्तर्गत राखेको छ ।    


प्रतिक्रिया