सभामुखमा सापकोटाको एकल उम्मेदवारी

माघ ७, २०७६ | काठमाडौं

प्रतिनिधिसभाको सभामुख पदका लागि अग्नि सापकोटाको एकल उम्मेदवारी परेको छ । संघीय संसद सचिवालयले मनोनयन दर्ताका लागि छुट्टयाएको समयावधिमा सापकोटाको मात्र उम्मेदवारी परेको हो । 

योसँगै सापकोटा सभामुख बन्ने निश्चित भएको छ । यद्यपि औपचारिक घोषणा भने आगामी आईतबार बस्ने प्रतिनिधिसभा बैठकले उहाँ निर्विरोध भएको घोषणा गर्नेछ । 

स्पष्ट बहुमत भएको नेकपाको उम्मेदवार विजयी हुने निश्चित भएपछि कांग्रेस लगायत दलले सभामुखमा उम्मेदवारी दिएनन् । 

सभामुख पदका लागि सापकोटाको नाम नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ ।

सो प्रस्तावलाई नेकपाकै मूख्य सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्नुभएको छ ।

मनोनयन दर्तापछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै सापकोटाले सार्वभौम संस्था संसदको गरिमा र मूल्यमान्यता उच्च बनाई राख्न आफूले सक्दो प्रयत्न गर्ने बताउनुभयो । 

सभामुखका लागि मनोनयन दर्ता गराउन आज दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । आगामी आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख चयन गर्ने कार्यतालिका छ । 

अस्ती आइतबार बसेको नेकपाको सचिवालय बैठकले सापकोटालाई सभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । सापकोटा सिन्धुपाल्चोक १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सभामुखमा उम्मेदवारी नदिएको प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपासँग उपसभामुखका लागि छलफल गर्नें भएको छ । 

सिंहदरबारमा बिहान बसेको संसदीय दलको बैठकले उपसभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको थियो । सचेतक पुष्पा भुषालले सभामुख छनोटका लागि आईतबार हुने मतदानमा तटस्थ बस्ने निर्णय भएको जानकारी दिनुभयो । 


प्रतिक्रिया