सापकोटालाई सभामुख बनाउन नहुने मागसहित सर्वोच्चमा रिट

माघ १०, २०७६ | काठमाडौं

अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने मागसहित सर्वोच्च अदालतमा रिट परेको छ । हत्या घटनाका आरोपितलाई सभामुख बनाउने प्रक्रिया समेत तत्काल रोक्न माग गदै कानून ब्यवसायी दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दायर गर्नुभएको हो । 

यस्तै सापकोटालाई तत्काल पक्राउ गर्नुपर्ने माग रिटकर्ताको छ । सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको अभियोग छ । सो मुद्दा अहिले सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, काभ्रे र सिन्धुपाल्चोक प्रहरीलाई विपक्षी बनाइएको छ । 

यही अवस्थामा सापकोटालाई सभामुखमा निर्वाचित गरिए संविधान र विद्यमान कानुनको गम्भीर उल्लंघन हुने, पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने तथा प्रतिनिधिसभा नै अर्मयादित हुने भन्दै कानुन ब्यवसायी त्रिपाठीले सर्वोच्चसँग अन्तरिम आदेशको माग गर्नुभएको छ । 

सभामुखको घोषणा हुने दिन आगामी आईतबार नै रिटको पेशी तोकिएको छ । सापकोटा सभामुखका एक्ला उम्मेदवार भएकाले सर्वोच्चले अन्तरिम आदेश जारी नगरे उहाँ नै सभामुखमा निर्वाचित हुनुहुनेछ । 


प्रतिक्रिया