कांग्रेसको आन्तरिक विवाद समाधान उन्मुख

माघ १०, २०७६ | काठमाडौं

नेपाली कांग्रेसको आन्तरिक विवाद समाधान उन्मुख भएको छ । सभापति शेरबहादुर देउवाले गत पुष ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा निर्णय गराएपछि उत्पन्न विवाद एक महिनापछि समाधान नजिक पुगेको हो । 

पछिल्ला केही दिन शीर्ष नेतृत्वबीच भएको बाक्लो छलफलले संस्थापन र इतर पक्षलाई नजिक ल्याएको छ । पुष ११ गतेको बैठकबाट पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, विधानको दफा निलम्वन, विभाग थप, भ्रातृ संस्थाका कार्यसमितिको पदावधि थप गरी ६ महिनाभित्र अधिवेशन गराउने निर्णय गरेको थियो ।

शीर्ष नेताको पछिल्लो छलफलले सो निर्णय सच्याउने सहमति गरेको हो । काठमाडौंको बुढालिकण्ठस्थित सभापति देउवाको निवासमा आज बसेको शीर्ष नेताको बैठकले १४ औं महाधिवेशनको मिति यथावत राखी तल्ला निकायको कार्यतालिका संशोधन गर्ने, क्रियाशिल सदसइता छानबिन समिति बनाउने, नेविसंघको महाधिवेशन आयोजक समिति बनाउने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

संस्थापन पक्षले बहुमतका आधारमा निर्णय गरेको भन्दै इतर पक्षले गत मंसिर २६ गतेदेखि नै कार्यसमिति बैठक बहिस्कार गर्दै आएको थियो । इतर पक्षको बहिस्कारकाबीच पुष ११ गतेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । 

संस्थापन र इतर पक्षबीच आज भएको सहमतिलाई आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा बनाएको कांग्रेसले जनाएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी सोमबार दिउँसो १ बजेका लागि बोलाएको छ ।  


प्रतिक्रिया