प्रतिनिधि सभाको बैठक आज बस्दै

माघ १४, २०७६ | काठमाडौं

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । लामो समय रिक्त रहेको सभामुख पदमा अग्नी प्रसाद सापकोटा निर्वाचित भएपछि उहाँको अध्यक्षतामा पहिलो बैठक बस्न लागेको हो । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा नवनिर्वाचित सभामुख सापकोटालाई संसदमा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिने संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

कानून निर्माणको हिसाबले निकै महत्वपूर्ण मानिएको यस पटकको हिउँदे अधिवेशनको एक महिना भन्दा बढी समय सभामुख चयनमै खर्चिएको प्रतिनिधी सभाले लामो समयदेखि थन्किएर बसेका विधेयकलाई टुंगो लगाउने अपेक्षा गरिएको छ । संसदको नियमित काम सुरु भएसँगै लामो समयदेखि संसदमा विचाराधीन र टेबल गर्नुपर्ने विधेयकले पनि संसदमा प्रवेश पाउने योगीले बताउनुभयो । आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदन समेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समाबेशी आयोग र मधेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यस्तै थारु र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पनि आजको बैठकमा प्रस्तुत हुने सम्भावना रहेको छ । 


प्रतिक्रिया