लक्जेम्वर्गका विदेशमन्त्री आज नेपाल आउँदै

माघ १५, २०७६ | काठमाडौं

लक्जेम्वर्गका विदेशमन्त्री जिन एसेलबर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा आजै विदेशमन्त्री एसेलवर्नले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गर्ने कार्यतालिका छ । लक्जेमवर्गका विदेशमन्त्रीको सम्मानमा मन्त्री ज्ञवालीले आज दिवा भोजको आयोजना गर्नुभएको छ । 

दुई मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापनाको ४५ वर्ष पुगेको उपलक्ष्यमा आज लक्जेमवर्गले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । दुई मुलुकबीच सन् १९७५ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । भारत भ्रमणका रहेका मन्त्री एसेलबर्नले काठमाडौं बसाइका क्रममा भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । युरोपेली मुलुक लक्जेमवर्गका तर्फबाट २२ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो । 

सन् १९९८ मा लक्जेमवर्गकी युवराज्ञी मारिया टेरेसाले नेपालको अनौपचारिक भ्रमण गर्नुभएको थियो । सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका तर्फबाट लक्जेमवर्गको पहिलो उच्चस्तरीय भ्रमण गर्नुभएको थियो । लक्जेमबर्गले युरोपियन युनियन मार्फत नेपालमा शिक्षा, वातावरण , स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । परराष्ट्र मन्त्रालयका अनुसार लक्जेमबर्गसँग नेपालको ब्यापार सम्बन्ध अत्यन्त न्युन रहेको छ । केही लाखमा सिमित आयात तथा निर्यातलाई बढाउने तथा लक्जेमबर्गका पर्यटकलाई नेपाल भित्राउने सम्बन्धमा दुई मुलुकका मन्त्रीबीच कुराकानी हुनेछ । विश्वको दोश्रो सर्वाधिक प्रतिव्यक्ति आय भएको मुलुक लक्जेमवर्गका पर्यटक भित्र्याउन सके नेपाली पर्यटनका लागि फाइदाजनक हुने सरोकारवालाले जनाएका छन् ।  


प्रतिक्रिया