यती समूहसँग कुनै साइनो छैन : प्रधानमन्त्री ओली

माघ १५, २०७६ | काठमाडौं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले इन्डो–प्यासिफिकसँग सम्बन्धित नरहेकाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्वीकार गर्नुपर्ने बताउनुभएको छ । 

नेकपा केन्द्रीय समिति बैठकमा उद्घाटन मन्तब्य राख्दै अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्ने दाबी गर्नुभयो । 

एमसीसीबारे नेकपा नेताहरुबाटै फरक धारणा आईरहेका बेला प्रधानमन्त्री ओलीले नेकपाकै केन्द्रीय समिति बैठकमा भ्रममा नपर्न आग्रह गर्नुभयो । 

प्रधानमन्त्री ओलीले हिजो मात्र एमसीसीको विषय प्रतिनिधिसभामा प्रवेश गराउनुभएको थियो । यद्यपि सोबारे अर्को बैठकमा मात्र खुलेर बोल्ने बताउनुभयो ।

यति समूहसँग कुनै साइनो नभएको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले १२ वर्षअघिको विषयलाई कोट्याएर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । 

सरकार कानूनसम्मत ढंगले अगाडि बढ्ने स्पष्ट पार्दै उहाँले व्यापारी घरानाको अस्वस्थ प्रतिस्पर्धामा सरकार नपर्ने बताउनुभयो ।

गठनको झण्डै २३ महिनामा वर्तमान सरकारले उल्लेख्य काम गरेको दाबी गर्दै यो बीचमा धेरै राम्रा काम भएपनि प्रचार हुन नसकेको गुनासो गर्नुभयो । 

आलोचनात्मक टिप्पणी स्वीकार्य हुने बताउँदै प्रधानमन्त्री ओलीले देशको विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभयो ।

ओलीले विश्वका कुनै पनि सूचकमा नेपालको अवस्था नेगेटिभ नभएको बताउँदै विपक्षी र नेकपाकै नेताहरुले सरकारले केही गरेन भन्ने आरोप निराधार रहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद छिट्टै सुल्झिने बताउँदै संवादको माध्यमबाट भारत सरकारसँग कुरा गरेर समाधान गर्न सक्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो । 


प्रतिक्रिया