एमसीसीबारे अध्ययन गर्न नेकपाद्वारा कार्यदल गठन

माघ १९, २०७६ | काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी नेकपाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेश एमसीसी बारे अध्ययन गर्न भन्दै उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

काठमाडौंमा आज सकिएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले हठातमा निर्णय नगर्न सुझाव दिदै अध्ययनका लागि कार्यदल गठन गर्न नेतृत्वको ध्यानाकर्षण गराएपछि बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो । एमसीसीलाई लिएर पार्टी भित्रै फरक धारणा सार्वजनिक भएपछि नेकपाले पार्टीगत धारणा बनाएर अघि बढ्ने निष्कर्षसहित कार्यदल बनाएको हो । 

केन्द्रीय सदस्य भाष्कर काफ्लेका अनुसार, बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठन भएको कार्यदलमा स्थायी समिति सदस्यहरु भिम रावल र प्रदीप ज्ञवाली सदस्य हुनुहुन्छ । कार्यदललाई १० दिन भित्र सुझाव सहितको प्रतिवेदन बुझाउन भनिएको छ । केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययनका लागि भन्दै कार्यदल बनाएपछि अनुमोदन प्रक्रिया समेत लम्बिएको छ ।

बैठकको समापन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदन गर्ने बिषयमा सरकार नहतारिने बताउँदै अध्ययन कार्यदलको सुझावका आधारमा अगाडि बड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा सदस्यहरुले एमसीसीका केही बुँदा राष्ट्रिय हित अनुकुल नभएको भन्दै अध्ययनका लागि विज्ञ सम्मिलिन सुझाव कार्यदल बनाउन माग गरेका थिए ।

'तुरुन्त नेपालको नक्सा सार्वजनिक होस ' 

यसैबीच नेकपाले भारत सरकारले गत नोभेम्बर २ मा जारी गरेको राजनीतिक नक्सा अमान्य रहेको बताएको छ ।

ऐतिहासिक नक्सा, प्रमाण र दस्तावेजका आधारमा सुस्ता सहित लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूभाग रहेको बारे स्पष्ट रहेको नेकपाको भनाई छ । पूर्व सहमति विपरित भारत सरकारले एकपक्षीय रुपमा जारी गरेको नक्सा नेपाललाई मान्य नहुने नेकपको निष्कर्ष छ । 

नेकपाको आज सकिएको केन्दीय कमिटी बैठकले राष्ट्रिय सहमतिलाई थप बलियो बनाउदै कुटनीतिक एवं राजनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा जारी गर्ने गृहकार्य भइरहेको जानकारी गराउनुभएको थियो । 

राजनीतिक प्रतिवेदनमथिको छलफलका क्रममा सदस्यहरुले उठाएका बिषयको जवाफ दिदै अध्यक्ष पुष्पकमल दाहालले सरकारले चाडै राजनीतिक नक्सा सार्वजनिक गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो । अध्यक्ष दाहालले मिचिएको भूमि समेटिएको नक्सा जारी गर्दा भारतसँग वार्ता गर्न सहज हुने भएकाले सरकारले अतिक्रमित भूमि समावेश गरेर नक्सा जारी गर्न लागेको बैठकमा जानकारी गराउनुभएको थियो ।

पार्टी एकताका बांकी काम आगामी १५ दिनभित्र टुङ्ग्याउने प्रतिवद्धता व्यक्त गदै सचिवालयमा महिला सहभागीताबारे छलफल गर्ने आश्वासन दिनुभयो ।

यसैबीच, केन्द्रीय कमिटी बैठकले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन तथा महासचिव बिष्णु पौडेलको सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । 

विधान संशोधन पारित भएसँगै सचिवालय सदस्य बामदेव गौतम उपाध्यक्षमा नियुक्त हुनु भएको छ । केन्द्रीय सदस्य भाष्कर काफ्लेले आजैको बैठकले नेता गौतमलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको जानकारी दिनुभयो । 

गत बुधबारबाट बसेको नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आजै सकिएको छ । बैठकले बिभिन्न ११ बुँदे प्रस्ताव पारित गरेको छ । 


प्रतिक्रिया