ललिता निवास जग्गा प्रकरणमा १७२ आरोपितविरुद्ध सीआईबीद्वारा मुद्दा दर्ता

फाल्गुन ४, २०७६ | काठमाडौं

काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । गृहमन्त्रालयको जाहेरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौ जिल्ला अदालतमा आज मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै अब सीआईबीले आरोपितलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने छ । यद्यपी अदालतले आरोपितविरुद्ध पक्राउ पूर्जी भने जारी गरिसकेको छैन ।

केहीदिन अघि सो प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा हडप्ने र व्यक्तिका नाममा लालपूर्जा बनाउन भूमिका खेल्ने पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री, ३ पूर्वसचिव समेत १ सय ७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध संहिता ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो ।

ललिता निवासको जग्गा सूवर्ण शम्सेर तथा उनका आफन्ताबाट २०२१ सालमा सरकारले मुआब्जा दिएर गृह मन्त्रालयको सरकारी कार्यालय समरजंग कम्पनीको रेखदेख र स्वामित्वमा रहने गरी कायम गरेको थियो ।

जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १ सय ७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो । ललिता निवासको १ सय ३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते गच्छदारसहित १ सय १० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिसकेको छ ।

११ महिनाको अनुसन्धानपछि सीआईबीले गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियार प्रमुखबाट अवकाशप्राप्त पूर्वसचिव दीप बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरी अधिकारीसहित १ सय ७२ जनालाई कसुरदार देखाउँदै मुद्धा चलाउन सिफारिस गरेको थियो ।


प्रतिक्रिया